२०८१ पुष ७ गते आइतवार / Dec 22 , 2024 , Sunday
२०८१ पुष ७ गते आइतवार

जनकपुरले उचाल्यो उपाधि

ADV
मध्यान्ह
२०८१ पुष ७ गते ०६:४०
जनकपुरले उचाल्यो उपाधि

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो सिजनको उपाधि जनकपुर बोल्ट्सले जितेको छ । त्रिवि क्रिकेट मैदानमा शनिबार खचाखच दर्शकका बीच सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले पराजित गर्दै जनकपुरले एनपीएलको उपाधि उचालेको हो ।

फाइनलमा सुदूरपश्चिम रोयल्सले दिएको १८५ रनको लक्ष्य जनकपुरले १९ दशमलव २ ओभरमा ५ विकेट गुमाउँदै कप उचाल्न सफल भएको हो ।

जनकपुरका लागि ओपनर लाहिरु मिलान्थाले सर्वाधिक ८७ रन बनाए । उनले ४९ बलमा ९ चौका र ४ छक्का प्रहार गरे । यो सँगै मिलान्था प्रतियोगिताकै सर्वाधिक रन जोड्ने खेलाडी पनि बने । प्रतियोगितामा उनले १० इनिङ्समा २ अर्धशतकसहित २९३ रन बनाएका छन् । 

जनकपुरलाई जिताउन भूमिका खेलेका मिलान्थाले सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीबाट एक पटक जीवनदान पाएका थिए । यस्तै, हर्ष ठाकरको क्याच पनि ब्रान्डन म्याकमुलनले एक पटक छाडेका थिए ।  

सुदूरपश्चिमका लागि स्कट केग्गेलिन, सैफ जैब, दीपेन्द्रसिंह ऐरी र इशान पाण्डेले समान १÷१ विकेट लिए । 

सुदूरपश्चिमका तर्फबाट बलिङ र फिल्डिङ निकै निराशाजनक रह्यो । ब्याटरले गरेको उत्कृष्ट प्रदर्शन बलरले दोहोर्‍याउन नसक्दा सुदूरपश्चिमले हार बेहोरेको हो ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिमका ओपनर सैफ जैबले सर्वाधिक ६९ रन बनाए । उनले ४३ बलमा ८ चौका र २ छक्का प्रहार गरे । अर्का ओपनर विनोद भण्डारीले ३१ बलमा ४१ रन बनाए । 

जनकपुरका लागि मोहम्मद मोसिन र किशोर महतोले समान ३/३ विकेट लिए । जेम्स निसम, ललित राजवंशीले समान १/१ विकेट लिए । जनकपुरले सुदूरपश्चिमसँग लिग चरणमा ७२ रन र पहिलो क्वालिफायरमा ८ विकेटको हार बेहोरेको थियो ।

विजेतालाई १ करोड १० लाख

जनकपुरको जितसँगै खेलाडी र समर्थकहरूले त्रिवि क्रिकेट मैदानमा उत्सव मनाएका थिए । जितसँगै जनकपुर बोल्ट्सले १ करोड १० लाख नगद पुरस्कारसँगै ट्रफी हात पारेको छ । उपविजेता सुदूरपश्चिमले ५१ लख रुपैयाँ पाएको छ । तेस्रो भएको कर्णाली याक्सले २५ लाख र चौथो भएको चितवन राइनोजले १५ लाख पुरस्कार पाएका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एनपीएलको विजेता जनकपुर बोल्ट्सलाई संयुक्त रूपमा ट्रफी हस्तान्तरण गरे । ट्रफी हस्तान्तरण गर्दा नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्द पनि उपस्थित थिए ।

सर्वोच्च शिखर सगरमाथा नजिक रहेको कालापत्थरको ढुंगा राखेर एनपीएल ट्रफी बनाइएको हो । ट्रफीमा प्रयोग भएको ढुंगा आरोहीद्वय निमा शेर्पा र मिङ्मा शेर्पाले ल्याएका थिए । ट्रफीको अनावरण प्रधानमन्त्री केपी ओलीले प्रतियोगिता सुरु हुनुअघि गरेका थिए ।

ऐरीले जिते कार, ललितलाई मोटरसाइकल

एनपीएलको उत्कृष्ट खेलाडी बन्दै सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले कार जितेका छन् । 

एनपीएलको उपाधि जित्न चुकेका ऐरीले कार जितेका हुन् । उनले ओमोडा एन्ड जेइको ब्रान्डको ६२ लाख रुपैयाँ पर्ने ओमोडा गाडी जितेका हुन् । ब्याटिङ, बलिङ र फिल्डिङमा उनको प्रदर्शन उत्कृष्ट रहेको छ । उनले अलराउन्ड प्रदर्शन गर्दै ९ खेलमा २२७ रन र ९ विकेट लिएका छन् ।

त्यस्तै, जनकपुर बोल्ट्सका ललित राजवंशीले अल्ट्राभाइलेट इलेक्ट्रिक मोटरसाइकल जितेका छन् । एनपीएलमा सर्वाधिक विकेट लिने ललितले मोटरसाइकल जितेका हुन् । 

राजवंशीले प्रतियोगितामा १० इनिङ्स बलिङ गर्दै ४० ओभरमा २१३ रन खर्चिएर १७ विकेट लिएका छन् । राजवंशीसँगै सुदूरपश्चिम रोयल्सका स्कट कुग्लिनले पनि समान १७ विकेट लिएका छन् ।

नेताहरू मैदानमा

एनपीएल क्रिकेट हेर्न शीर्ष नेताहरू त्रिवि क्रिकेट मैदान पुगेका थिए । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री रमेश लेखक, उद्योगमन्त्री दामोदर भण्डारी, सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह, सामाजिक विकासमन्त्री मेघराज खड्का, मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह खेल अवलोकन गर्न मैदान पुगेका थिए ।

कसले के जिते ?

एनपीएलको ‘प्लेयर अफ द टुर्नामेन्ट’ सुदूरपश्चिम रोयल्सका सेफ अली जैबले हात पारे । उनले ५ लाख रुपैयाँ प्राप्त गरेका छन् । प्रतियोगिताभर उनले सुदूरपश्चिमका लागि २७५ रन र १२ विकेट लिएका थिए ।

त्यस्तै, सर्वोत्कृष्ट खेलाडी सुदूरपश्चिमकै दीपेन्द्रसिंह ऐरी बने । उनले ओमोडा इभी कार पुरस्कार प्राप्त गरेका छन् । एनपीएलको सर्वोत्कृष्ट बलर ललित राजवंशी घोषित भए । उनले मोटरसाइकल पुरस्कार प्राप्त गरेका छन् ।

‘इमर्जिङ प्लेयर अफ द टुर्नामेन्ट’ विपीन शर्मा बनेका छन् । कर्णाली याक्सका १६ वर्षे युवा बलर विपीनले ५० हजार नगद र प्रेजिडेन्सियल कलेजमा १० लाखको छात्रवृत्ति प्राप्त गरे ।

इनर्जेटिक प्लेयर अफ द टुर्नामेन्ट जनकपुरका जिमी निसम घोषित भए । उनले २ लाख रुपैयाँ प्राप्त गरेका छन् । उनको २०४ भन्दा माथिको स्ट्राइक रेट छ ।

अत्यधिक चौका अवार्ड लाहिरु मिलान्थाले पाएका छन् । सुपर फोरका लागि मिलन्थाले नै २५ हजार रुपैयाँ र ५ हजार रुपैयाँको रिचार्ज भौचर जिते । यस्तै, ‘फेयर प्ले अवार्ड’ लुम्बिनी लायन्स टिमले प्राप्त गरेको छ ।

प्रतियोगितामा सुदूरपश्चिमका फास्ट बलर स्कट कुगलेइन सबैभन्दा धेरै विकेट लिने खेलाडी बनेका छन् । उनले ९ खेलमा १७ विकेट लिए । उनले पोखराविरुद्ध ५ विकेट लिएका थिए ।

राष्ट्रपति र प्रधानमन्त्रीले दिए बधाई

एनपीएलको पहिलो संस्करणको उपाधि जितेकोमा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीले जनकपुर बोल्ट्सलाई बधाई दिएका छन् ।

राष्ट्रपति पौडेलले प्रतियोगितामा सहभागी सबैलाई शुभकामना दिँदै आगामी संस्करणहरूमा अझ राम्रो गर्ने विश्वास व्यक्त गरेका छन् । यस्तै, प्रधानमन्त्री ओलीले ऐतिहासिक जितप्रति खुसी व्यक्त गरेका छन् । उनले भनेका छन्, ‘बधाई जनकपुर बोल्ट्स, एनपीएलको पहिलो उपाधि जित्न सफल भएकोमा । आजको खेलमा सुदूरपश्चिम रोयल्सको प्रदर्शन पनि उत्कृष्ट रह्यो ।’

ADVADV

सम्बन्धित खबर

Advertise