२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

भारतमा बालविवाहका घटनामा पाँच हजार भन्दा बढी पक्राउ

Nada
२०८१ पुष ७ गते १३:५८
Shares
भारतमा बालविवाहका घटनामा पाँच हजार भन्दा बढी पक्राउ

काठमाडौंः भारतको उत्तरपूर्वी क्षेत्रमा अवैध बालविवाहविरुद्ध गरिएको कारबाहीका कारण करिब पाँच हजार व्यक्ति पक्राउ परेका आसाम राज्यका अधिकारीले आइतबार बताएका छन् । आसाम राज्यका मुख्यमन्त्री हिमन्त बिस्वा शर्माले एक विज्ञप्ति जारी गरी भनेका छन्, ‘हामी यस सामाजिक कुरीतिको अन्त्यका लागि साहसिक कदम चाल्नेछौं ।’

ncell

‘आसामले बालविवाहविरुद्धको लडाइँ जारी राखेको छ’, उनले भने, ‘रातभर छापा मारिएको छ र पक्राउ परेकालाई आइतबार अदालतमा पेश गरिनेछ।’ संयुक्त राष्ट्रसङ्घका अनुसार भारतमा २२ करोडभन्दा बढी बालदुलही छन् तर यो शताब्दीमा बालविवाहको सङ्ख्यामा नाटकीय रुपमा कमी आएको छ ।

आसाम राज्यले सन् २०२३ को फेब्रुअरीमा सुरु भएको उन्मूलन अभियानका क्रममा विवाहित दम्पतीका अभिभावक र कम उमेरका वैवाहिक बन्धनमा बाँधिएका रजिष्ट्रारसहित हजारौँलाई पक्राउ गरिसकेको छ । यो सँगै अहिले पक्राउ पर्नेको सङ्ख्या चार हजार भन्दा बढी पुगेको छ ।

शर्माले सन् २०२६ सम्ममा आफ्नो राज्यमा बालविवाहलाई पूर्णरूपमा अन्त्य गर्ने अभियान चलाएका छन् । भारतमा कानुनीरूपमा विवाहको लागि उमेर १८ वर्ष तोकिएको छ तर विशेष गरी गरीब ग्रामीण क्षेत्रहरूमा लाखौं बच्चाहरु बालविवाहको बन्धनमा बाँधिन बाध्य छन् । थुप्रै आमाबाबुले आफ्नो आर्थिक सुरक्षा सुधार्ने आशामा आफ्ना छोराछोरीको विवाह गर्छन् ।

बालविवाहको कारण भारतीय समाजमा विवाहित किशोरीहरूले खाना पकाउने र अन्य घरायसी धन्दाका लागि विद्यालय जान छोड्ने गरेका पाइन्छ । विवाहपछि सानै उमेरमा बच्चा जन्माउँदा उनीहरूले स्वास्थ्य समस्याहरू पनि भोग्नुपर्छ । सन् २०१७ को ऐतिहासिक फैसलामा भारतको सर्वोच्च अदालतले कम उमेरकी किशोरीसँग यौन सम्बन्ध राख्नु बलात्कार भएको बताएको थियो । (एजेन्सी)

सम्बन्धित खबर