बझाङ : बझाङको जयपृथ्वी नगरपालिकाले जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई १० थान ह्विल लक प्रदान गरेको छ । नगरपालिकाले आइतबार सो ह्विल लक ट्राफिकलाई प्रदान गरेको हो । जथाभावी रुपमा पार्किङ गरेका सवारी साधनलाई लक गर्नका लागि नगरपालिकाले बझाङ ट्राफिकलाई उक्त सामग्री प्रदान गरेको हो ।
सो अवसरमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिद्धराज पण्डितले नगरपालिकालाई सफल बनाउन ट्राफिक प्रहरीको ठूलो सहयोग रहेको बताउँदै जथाभावी रुपमा गरिने सवारी पार्किङ र नगरपालिकालाई व्यवस्थित गर्न ट्राफिक प्रहरीको महत्वपूर्ण भूमिका रहेको बताए ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङका प्रमुख विनोद विष्टले नगरपालिकाभित्र गुड्ने सवारी साधनलाई मान्छे टिप्ने र हिँडिहाल्ने वातावरण बनाउन ट्राफिकले नगरपालिकासँग सहकार्य गरेर अगाडि बढ्ने विश्वास व्यक्त गरे ।
उनले जथाभावी यातायातका साधन पार्किङ गरेका कारण पैदलयात्रुलाई हिँड्न समस्या परेको हुँदा यसलाई सहज बनाउन नगरपालिका लाग्नुपर्ने बताए । विष्टले जयपृथ्वी नगरपालिकालाई सुन्दर र व्यवस्थित बनाउन ट्राफिक प्रहरीले सदैव सहकार्य गर्ने बताए ।