२०८३ असोज ५ गते सोमवार / Sep 21 , 2026 , Monday
२०८३ असोज ५ गते सोमवार

एचआइभी सङ्क्रमित स्वास्थ्य बीमाबाट बञ्चित

Nada
रासस
२०८१ पुष ८ गते १५:२७
Shares
एचआइभी सङ्क्रमित स्वास्थ्य बीमाबाट बञ्चित

गण्डकीः विभेद्को डरले समाजमा खुल्न नसकेका एचआइभी सङ्क्रमित निःशुल्क स्वास्थ्य बीमाको सुविधाबाट बञ्चित भएका छन् । निःशुल्क स्वास्थ्य बीमा कार्यक्रममा समावेश हुन सम्बन्धित वडाबाट सिफारिस लिनुपर्ने व्यवस्थाका कारण एचआइभी सङ्क्रमित समस्यामा परेका हुन् । 

ncell

एचआइभीको क्षेत्रमा क्रियाशील धवलागिरि पोजेटिभ समूहका वित्त तथा कार्यक्रम संयोजक सुवास कँडेलले बागलुङमा कूल दुई सय आठजना एचआइभी सङ्क्रमितमध्ये ३४ जनाको स्वास्थ्य बीमा हुनसकेको छैन ।‘एक सय ७४ जनाको निःशुल्क स्वास्थ्य बीमा भएको छ, समाजमा खुल्न नचाहने र विभेद्को डरले ३४ जना स्वास्थ्य बीमामा समेटिन सक्नुभएको छैन’, उनले भने, ‘उहाँहरूका लागि धवलागिरि अस्पतालमा रहेको एआरटी केन्द्र वा धवलागिरि पोजेटिभ समूहमार्फत बीमाको व्यवस्था गरिदिन सम्बन्धित निकायसँग हाम्रो माग छ ।’

निःशुल्क स्वास्थ्य बीमा गर्न नपाएकामा जिल्लाको गलकोट, ढोरपाटन नगरपालिका, बडिगाड, निसीखोला गाउँपालिकालगायत विभिन्न स्थानीय तहका एचआइभी सङ्क्रमित रहेका छन् ।

बीमा सुविधाबाट बञ्चित हुँदा एचआइभी सङ्क्रमित महँगो उपचार सेवा लिन बाध्य छन् । सरकारले एचआइभी सङ्क्रमितका लागि निःशुल्क स्वास्थ्य बीमाको व्यवस्था गरेको छ । कतिपय स्थानीय तहले आफ्नै बजेटबाट एचआइभी सङ्क्रमितको स्वास्थ्य बीमा गर्दै आएका छन् । स्वास्थ्य कार्यालय, बागलुङका क्षयकुष्ठ निरीक्षक देवप्रकाश घिमिरेले स्वास्थ्य कार्यालयको सिफारिसमा या अन्य आधिकारिक निकायमार्फत एचआईभी सङ्क्रमितको बीमा गरिदिने व्यवस्था गर्नुपर्ने बताए । 

‘बीमाको सिफारिसका लागि सङ्क्रमित आफ्नै ठाउँमा जानुपर्ने भएकाले उहाँहरूलाई समस्या भएको हो’, उनले भने, ‘एचआइभी सङ्क्रमितलाई सहज रूपमा स्वास्थ्य बीमाको सुविधा दिन स्वास्थ्य बीमा बोर्डले पहल लिनु आवश्यक छ । यसअघि धवलागिरि अस्पतालमा रहेको एआरटी केन्द्रबाट एचआइभी सङ्क्रमितको स्वास्थ्य बीमा हुँदै आएकामा अहिले बजेट कटौती भएपछि उक्त केन्द्रबाट बीमा हुन छाडेको छ । 

धवलागिरि पोजेटिभ समूहका अनुसार जिल्लामा रहेका कूल दुई सय आठ एचआइभी सङ्क्रिममध्ये २२ जना बालबालिका रहेका छन् । सङ्क्रमितमध्ये एक सय ५२ जनाले धवलागिरि अस्पतालमा रहेको एआरटी केन्द्रबाट औषधोपचारको सेवा लिइरहेका छन् । जिल्लाको ढोरपाटन नगरपालिकास्थित बुर्तिबाङ अस्पतालबाट पनि एचआइभी सङ्क्रमितका लागि औषधि उपलब्ध गराइँदै आएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर