२०८१ पुष ९ गते मङ्गलवार / Dec 24 , 2024 , Tuesday
२०८१ पुष ९ गते मङ्गलवार

जनताका गुनासालाई केन्द्रबिन्दुमा राख्दै छत्रदेव गाउँपालिका

ADV
सुर्य प्रसाद भुसाल
२०८१ पुष ८ गते २०:४२
जनताका गुनासालाई केन्द्रबिन्दुमा राख्दै छत्रदेव गाउँपालिका

अर्घाखाँची : अर्घाखाँचीको छत्रदेव गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरु जनताका गुनासालाई केन्द्र बिन्दुमा राखेर आफ्नो कार्यसम्पादनलाई अगाडि बढाएका छन् । 

कार्यसम्पादन मूल्यांकनमा उत्कृष्ट नतिजा प्राप्त गर्ने र सिंहदरबारको अधिकार गाउँ–गाउँका जनताले स्पष्ट देख्ने, बुझ्ने गरी कार्यसम्पादनलाई अगाडि बढाइएको जनप्रतिनिधि र कर्मचारीहरुले बताएका छन् । 

पालिकाभित्रका नागरिकको स्वास्थ्य, शिक्षा रोजगारप्रति संवेदनशील बन्दै गएको उनीहरुले बताएका छन् । पालिकाभित्र सेवा प्रवाह, विकास निर्माणको काम दु्रत गतिमा अगाडि बढाउँदै नागरिकहरुको स्वास्थ्य, शिक्षा, रोजगारमा समेत संवेदनशील हुँदै रचनात्मक कामहरु सञ्चालन गरिएको छत्रदेव गाउँपालिकाका अध्यक्ष चन्द्रमान श्रेष्ठले जानकारी दिए ।

नागरिकहरुको स्वास्थ्यलाई विशेष केन्द्रमा राखेर सबै वडाका जनतालाई विशेषज्ञ सेवा दिने गरी बल्कोट प्राथमिक स्वास्थ केन्द्रमा प्रत्येक दुई÷दुई महिनाको अन्तरालमा विशेषज्ञ डाक्टरसहितको स्वास्थ्य शिविर सञ्चालन गरिँदै आइएको छ ।  

स्वास्थ्य शिविरबाट छत्रदेवबासीले विभिन्न प्रकारको सेवा लिन सफल भएका गाउँपालिकाकी उपाध्यक्ष मनिशर्मा पन्थीले बताइन् ।

गाउँपालिकाले यहाँका ज्येष्ठ नागरिकहरुलाई घर–घरमा पुगेर स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आएको छ, भने उनीहरुको सुरक्षा भत्ता कार्ड नविकरण समेत गरी घरमा पु¥याइदिने, सबै वडामा पुगेर एकीकृत घुम्ती शिविरमार्फत योजना सम्झौता गर्ने, ज्येष्ठ नागरिक परिचयपत्र, अपांग परिचयपत्र, घरेलु उद्योग दर्ता, माटो परीक्षण, भेटनरी सम्बन्धी सेवा तथा उपचार सेवा, परामर्श सेवा लगायत गाउँपालिकाबाट दिने सबै सेवा सुविधा वडाहरुमा पुगेर दिने गरेको छ । 

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पाण्डेले पहिलो चौमासिकमा उक्त सेवा दिएपछि छत्रदेवबासी खुसी भएको बताए ।

बिरामीहरुका लागि आवश्यक रगत निःशुल्क उपलब्ध गराउने गरी गृहकार्य भइरहेको वडा नम्बर ३ का वडाध्यक्ष तेजुराम खनालले बताए ।

नेपाल नेत्र ज्योति संघ, जिल्ला आँखा उपचार केन्द्र अर्घाखाँचीसँग सम्झौता गरी यहाँका नागरिकहरुले निःशुल्क मोतियाविन्दु शल्यक्रियाको सेवा समेत छत्रदेववासीले  लिइरहेका छन् । केहीदिन पहिला मात्रै झण्डै २ सय जनाको आँखाको निःशुल्क परीक्षण गरी औषधि, चस्मा, मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया गरिएको थियो । 

नागरिकहरुको सहज र सुलभ रुपमा आँखा उपचारका लागि गाउँपालिकाले प्राथमिक उपचार केन्द्रको स्थापना गरी एक जना आँखा प्राविधिक राखेर काम सुरु गरेको अध्यक्ष चन्द्रमान श्रेष्ठले बताए ।

नागरिकहरुलाई राज्यबाट प्राप्त हुने औषधिको नियमित व्यवस्थापनका लागि पर्याप्त औषधिको आपूर्तिको व्यवस्था मिलाइएको प्रमुख प्रशासकीय अधिकृत पाण्डेले बताए । 

गाउँपालिकाले उद्देश्य विपरित सञ्चालित र लामो समयदेखि निष्क्रिय रहेका सहकारी संस्थाहरुलाई नियमन गर्न शुरु गरेपछि सहकारीहरु पनि सचेत भएको र अहिले राम्रो काम गरेको अधिकृत पाण्डेको भनाइ छ । 

स्थानीय सरकार सञ्चालन ऐनमा गाउँपालिकाको प्रशासकीय अधिकृत सहकारी रजिस्ट्रार हुने व्यवस्था अनुसार सहकारीले लगातार दुई आर्थिक वर्षसम्म कुनै कारोबार नगरी निष्क्रिय रहेको र विनियममा उल्लेखित उद्देश्यविपरित कार्य गरेका सहकारी संस्थाहरुलाई नियमन गरिएको अधिकृत पाण्डेले बताए । 

गाउँपालिकामा पाण्डे प्रशासकीय अधिकृत बनेर आएपछि मुस्कानसहितको सेवा, कुनै पनि सेवाग्राही कामका लागि कार्यालयमा पुगेको ५ मिनेट भन्दा बढी बस्न नपर्ने गरी अहिले कामहरु अगाडि बढाएको पाइएको सेवाग्राही छत्रदेव ४ का भानु पराजुलीले बताए ।

छत्रदेव गाउँपालिकाकाले अपाङ्गता भएका नागरिकहरुलाई घरमै गइ उनीहरूको माग बमोजिमका सामग्रीहरू वितरण गर्ने, नागरिकहरुको गुनासो तथा सुझावहरू संकलन गर्ने, कृषकहरूसँग छलफल गर्ने, जेष्ठ नागरिकसँग छलफल गर्ने, ८० वर्षमाथिका जेष्ठ नागरिकलाई सम्मान, विभिन्न योजनाहरूको अनुगमन, निरीक्षण गर्ने गरेको छ । 

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise