२०८१ पुष १० गते बुधवार / Dec 25 , 2024 , Wednesday
२०८१ पुष १० गते बुधवार

सीमा क्षेत्रमा हुने तस्करी नियन्त्रण गर्न मुख्यमन्त्री आचार्यको निर्देशन

ADV
सुर्य प्रसाद भुसाल
२०८१ पुष ९ गते १४:२२
सीमा क्षेत्रमा हुने तस्करी नियन्त्रण गर्न मुख्यमन्त्री आचार्यको निर्देशन

देउखुरी : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले छिमेकी मुलुक भारतसँग सीमा जोडिएका लुम्बिनी प्रदेशका केही जिल्लालाई प्राथमिकतामा राखेर विशेष सुरक्षा योजनाअन्तर्गत निगरानी बढाउन सुरक्षा अधिकारीलाई निर्देशन दिएका छन् । सीमा क्षेत्रबाट भइरहेको चोरी निकासी, तस्करी र राजस्व चुहावट नियन्त्रण गर्न प्रहरीका उच्च अधिकारीलाई मुख्यमन्त्री आचार्यले निर्देशन दिएका हुन् ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायव महानिरीक्षक दानबहादुर कार्कीसँग मुख्यमन्त्री कार्यालय देउखुरीमा भएको भेटमा मुख्यमन्त्री आचार्यले सीमा क्षेत्रबाट भइरहेको अवैध कारोबार र राजस्व चुहावटलाई रोक्न निर्देशन दिएका हुन् । 

मुख्यमन्त्री आचार्यले भने, ‘मूल नाकाको साथ साथै अन्य चोरी निकासी हुने नाकाहरुको पहिचान गरेर प्रहरीले यसमा कडा निगरानी गर्न जरुरी छ । राजस्व चुहावटलाई रोक्न र अवैध कारोबारलाई निरुत्साहित गर्न प्रहरीले आफ्नो भूमिका बढाउन जरुरी छ । भारतबाट दुध समेत नेपालमा आइरहेको भन्ने सूचना मैले पाएको छु, त्यसले गर्दा नेपाली किसानको दुध विक्री नभएको अवस्थामा कुखुरा, माछा पनि तस्करी भएर नेपाल आइरहेकाले त्यसलाई तत्काल रोक्न जरुरी छ ।’

भेटमा लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक कार्कीले सीमा क्षेत्रबाट हुने अवैध कारोबार, चोरी तस्करी र राजस्व चुहावट नियन्त्रणमा प्रहरी सक्रियतापूर्वक खटिएको बताए । उनले सीमा क्षेत्रमा निगरानी बढाइएको र राजस्व छलेर भित्रिएका सामग्रीहरु जफत गरिएको बताउँदै उनले अझ विशेष सुरक्षा टोली परिचालन गरिने बताए । यसका साथै भारतबाट नेपाल गोरु भित्र्याउने र नेपाली बाटो भएर पुनः भारत पुर्‍यायाउने कार्यलाई रोक लगाइएको उनले जानकारी दिए ।

हालै सम्पन्न प्रदेश सुरक्षा गोष्ठीबाट पनि सीमा क्षेत्रमा भइरहेको चोरी तस्करी नियन्त्रण गर्न प्रहरी कार्यालयलाई विशेष निर्देशन दिइएको थियो । 

ADVADV

सम्बन्धित खबर

Advertise