२०८१ पुष १० गते बुधवार / Dec 25 , 2024 , Wednesday
२०८१ पुष १० गते बुधवार

शीतगंगाको १६औं नगरसभाः बजेट संशोधन

ADV
सुर्य प्रसाद भुसाल
२०८१ पुष ९ गते २१:०५
शीतगंगाको १६औं नगरसभाः बजेट संशोधन

अर्घाखाँची : अर्घाखाँचीको शीतगंगा नगरपालिकाको १६औं नगरसभा सम्पन्न भएको छ  । सभामा नगरप्रमुख  छबिलाल पौडेलले विभिन्न प्रस्ताव पेश गरेका थिए । 

नगरप्रमुख पौडेलले आर्थिक वर्ष २०८१/०८२ का लागि स्वीकृत केही योजना तथा कार्यक्रम संशोधन र रकमान्तर गर्ने प्रस्ताव गरेका थिए ।  प्लास्टिकजन्य वस्तु प्रतिबन्ध विधेयक २०८१, वन व्यवस्थापन सम्बन्धी नीति २०८१, आर्थिक ऐन २०८१ संशोधन प्रस्ताव पेश गरिएको नगरप्रमुख पौडेलले बताए ।

उत्पादनमूलक र छिटो प्रतिफल दिने, राजस्व परिचालनमा योगदान पुर्‍याउने, आर्थिक विकास र गरिबी निवारणमा प्रत्यक्ष योगदान पुर्‍याउने कार्यक्रम सञ्चालन गर्ने, समावेशी विकास, दिगो विकास, सहस्राब्दी विकासका लक्ष्य, हरियाली प्रवद्र्धन, वातावरण संरक्षण, जनमैत्री विकास लगायतका विकासका समसामयिक मुद्दाहरूलाई निरन्तर सम्बोधन गर्ने भएको सभामा नगरप्रमुख तथा सभाका अध्यक्ष पौडेलले पेश गरेको कार्यक्रममा उल्लेख छ । 

सबै प्रकारका विभेद र असमानताको अन्त्य, समन्यायिक विकास र विकासको प्रतिफलमा न्यायपूर्ण पहुँच पुर्‍याउन र उत्तरदायी शासकीय व्यवस्था, शान्ति सुरक्षाको प्रत्याभूति, भ्रष्टाचार नियन्त्रण, सुशासन र सेवा प्रवाहमा वातावरण ल्याउने नीति अगाडि सारिएको पौडेलले दाबी गरे ।

आर्थिक वर्ष २०८१/०८२ को लागि ८६ करोड ८६ लाख ९० हजार रुपैयाँको बजेट ल्याएको शीतगंगाले अहिले १६औं नगरसभामार्फत नगर उपप्रमुख गिता भाटले सार्वजनिक गरेको बजेटमा चालुतर्फ ६२ करोड ९५ लाख ६५ हजार र पूँजीगततर्फ २३ करोड ९१ लाख २५ हजार रूपैयाँ रहेकोमा केही बजेट संशोधन गरेको छ  । 

संघबाट समानीकरण अनुदान १२ करोड ८० लाख, सशर्त अनुदान ४७ करोड १५ लाख ५५ हजार र राजस्व बाँडफाँडतर्फको रकम १६ करोड ७२ हजार प्राप्त हुने अनुमान गरेर यसअघि बजेट सार्वजनिक गरिएको थियोे । सोही बजेटलाई १६औं नगरसभाले अनुमोदन गरेको योजना अधिकृत नुमलाल खनालले जानकारी दिए ।

लुम्बिनी प्रदेशबाट समपुरक अनुदान १ करोड ५ लाख, संघीय समपुरक अनुदानतर्फ ५० लाख, सडक बोर्ड नेपाल समपुरक अनुदान ६५ लाख, प्रदेश समानीकरण अनुदान ८९ लाख २० हजार, प्रदेश सशर्त अनुदान १ करोड २८ लाख, प्रदेश विशेष अनुदान ३० लाख र प्रदेश राजस्व बाँडफाँट १ करोड १२ लाख र चालु आर्थिक वर्षको अनुमानित बचत १ करोड ४९ लाख २१ हजार हुने प्रारम्भिक अनुमान गरेर यसअघि बजेट सार्वजनिक गरिएको र सोही बजेटको आधारमा विकास निर्माणका कामहरु भइरहेको नगर उपप्रमुख भाटले बताइन् । 

सभामा शीतगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एवं सभाका सदस्य सचिव मदन जिसीले चालु आर्थिक वर्षको हालसम्मको प्रगति विवरण प्रस्तुत गरेका थिए । 

नगरसभामा ४ सय ९१ वटा योजना तथा कार्यक्रम रहेका छन् । अधिवेशनमा सहभागीहरूले आ–आफ्नो क्षेत्रका समस्या तथा नगरका कमजोरीहरूलाई जोडतोडका साथ उठाएको योजना अधिकृत खनालले बताए । उनीहरूले पालिका राजस्व संकलनमा कमजोर रहेको, प्राथमिक तहका विद्यालयमा खाजाको पैसा नपुगेको, विद्यार्थीको संख्या अनुसार शिक्षकको संख्या अपुग तथा बढी भएको, नगरका कर्मचारी मिलान तथा हेरफेर विषय, नगरपालिकाका कार्यक्रम पार्टीका कार्यक्रम जस्तो भएको जस्ता विभिन्न विषयमा गुनासा तथा सुझावहरू राखेका थिए ।

त्यस्तै नगरको चालू आर्थिक वर्षको अहिलेसम्म भएको आयव्यय, शिक्षा स्वास्थ्य लगायत विभिन्न क्षेत्रको अवस्था नगरका योजना अधिकृत नुमलाल खनालले  प्रस्तुत गरेका थिए ।

त्यस्तै नगर उपप्रमुख भाटले प्रस्तुत गरेको १५औं नगरसभा बाट पारित भएका कार्यक्रमहरू संशोधन तथा अनुमोदन भएको थियो ।

ADVADV

सम्बन्धित खबर

Advertise