२०८१ पुष १० गते बुधवार / Dec 25 , 2024 , Wednesday
२०८१ पुष १० गते बुधवार
Ads

एनपीएलसँगै खुलेको सपना

ADV
२०८१ पुष १० गते ०६:१५
एनपीएलसँगै खुलेको सपना

–डा. शोभाकर पराजुली

देशको खेल इतिहासमै पहिलो पटक भएको नेपाल क्रिकेट लिग (एनपीएल)को भव्यताले आम खेल क्षेत्रमा एक प्रकारको उत्साह र उमंग छाएको छ । यो नेपालको सबैभन्दा धेरै धनराशि लगानी गरिएको पहिलो घरेलु प्रतियोगिता हो ।

यसले देशीय मात्र नभई अन्तर्राष्ट्रिय रूपमा पनि चर्चा बटुल्न सफल भयो । यसले नेपाली खेल र खेलाडीको अन्तर्राष्ट्रिय परिचय उचाइमा पु¥याएको मात्र छैन, खेल क्षेत्रको विकासमा नयाँ आयाम पनि थपिदिएको छ । 

जसरी नेपाली खेलाडीको अन्तर्राष्ट्रिय परिचय उँचो भएको छ, त्योभन्दा अग्लो नेपाली क्रिकेटको परिचय अन्तर्राष्ट्रिय स्तरका खेलाडीहरूले पनि बनाइदिएका छन् । एनपीएलमा सहभागी ८ फ्रेन्चाइज समूहका लागि विभिन्न देशबाट आएका दर्जनभन्दा बढी अन्तर्राष्ट्रिय खेलाडीले नेपाल र नेपाली खेलकुदलाई विश्व मञ्चमा पहिचान पु¥याउन सहयोग पुगेको छ ।

विदेशी खेलाडी नेपालको घरेलु प्रतियोगितामा भाग लिन आउँदा नेपाली खेलाडीमा उत्साह मात्र संचार भएको छैन बरु उनीहरूले नेपालको प्राकृतिक र नेपाली भूगोलको समेत परिचय विश्वमाझ पुर्‍याएका छन् ।

यसरी हेर्दा, क्रिकेटको यो घरेलु महाकुम्भले खेल मात्र नभएर आर्थिक, सामाजिक र पर्टकीय हिसाबले पनि देशलाई निकै फाइदा पुगेको छ र सँगसँगै क्रिकेटको यो महामेलाले खेलको मनोरञ्जन मात्र नभएर देशको अर्थतन्त्रलाई एउटा दिगो दिशा पनि दिएको छ । योसँगै एनपीएलएले सामाजिक एकता तथा साम्प्रदायिक सद्भावको सुगन्ध पनि छरेको छ । 

नेपालमा धेरै प्रकारका खेलहरू छन् । ती सबका आ–आफ्ना महत्त्व, मान्यता र इतिहास छन् । तिनले हाम्रो समाजलाई भावनात्मक र आत्मीय रूपमा पनि जोडिआएका छन् । 

कुनैकुनै खेलहरू यस्ता पनि छन्, जसले समुदायको पहिचान बोकेका हुन्छन्, इतिहास बोकेका हुन्छन् । ती आफैंमा हाम्रा समाजिक र सांस्कृतिक पहिचान पनि बनेका छन् । कतिपय खेलले नेपाललाई अन्तर्राष्ट्रिय रूपमा चिनाइरहेका छन् । त्यस्तै पछिल्लो समय नेपाललाई चिनाउने एउटा आयाम बनेको छ क्रिकेट । 

क्रिकेटको विश्व इतिहास सदियांै लामो छ । १६औं शताब्दीको सुरुवाततिर बाहिर खेलिन थालेको यो खेल नेपालमा भने १९औं शताब्दीतिर मात्र सुरुवात भएको देखिन्छ । त्यो बेलाको राजनीतिक र सामाजिक व्यवस्था अनि अवस्थाका कारण यो खेल कुनै बेला दरबारका पर्खालभित्र सीमित थियो अर्थात् शासकहरूले आफ्नो परिवारको मनोरञ्जनका लागि मात्र यो खेल खेल्न सुरु गरेका थिए ।

शासकीय दायराबाट बिस्तारै गल्ली र मैदानसम्म आइपुगेको क्रिकेटले अहिले चौतर्फी उत्साह थपिरहेको छ । साँघुरा गल्ली, खेलबारी र अप्ठ्यारा मैदानबाट उठेर नेपाली क्रिकेट अहिले विश्वस्तरीय प्रतिस्पर्धासम्म पुगिसकेको इतिहास छ । १६औं शताब्दीतिर युरोपबाट सुरु भएको यो खेल अब विश्वभरि फैलिइसकेको छ । र, यो खेल अब मनोरञ्जनका लागि मात्र रहेन बरु क्रिकेट अब धेरै राष्ट्रका लागि अर्थतन्त्रको एउटा हिस्सा बनिसकेको छ । 

नेपालमा कुनै बेला बेलायततिरको सिको गरेर राणाहरूले आफ्ना सन्तान र परिवारबीच मनोरञ्जनका लागि पर्खालभित्र सुरु गरेको क्रिकेट अहिले हरेक नयाँ जन्मिने बालकको सपना बनिसकेको छ । त्यसैमा उनीहरूले भ(िवष्य देखिरहेका छन् र खोजिरहेका छन् ।

नेपालमा राणा शासनकालदेखि नै क्रिकेटको सुरुवात भएको देखिन्छ । २००४ सालमै नेपालमा क्रिकेट संघ गठन भएको थियो तर त्यसले २०५२ सालमा आएर मात्र अन्तर्राष्ट्रिय क्रिकेट संघबाट मान्यता पायो । यद्यपि, दरबारका पर्खाल नाघेर आमनागरिक स्तरमा क्रिकेट खेल २००६ सालदेखि नै खेल्न सुरु भएको इतिहास भेटिन्छन् । 

सुधार र आधुनिकतातिर झुकाव राख्ने कतिपय राणा शासकहरूले जनस्तरमै त्यो बेलादेखि क्रिकेट खेलाउन सुरु गरेका थिए । १९१९ सालतिर दरबार हाइस्कुलमा क्रिकेट खेलाइएको थियो तर खुल्ला रूपमा २०३७ सालतिर मात्र राष्ट्रिय स्तरको क्रिकेट प्रतियोगिता आयोजना भयो । यस प्रतियोगितामा अंचलस्तरीय समूहहरू सहभागी भएका थिए ।

त्यसपछि विस्तारै गति लिन थालेको क्रिकेटले २०४६ साल तथा २०६३ सालपछि व्यावसायिक रूपमा पनि गति लिन थाल्यो । यसरी शासकको दरबारिया पर्खाल अनि साँघुरा गल्ली र घाँसे मैदानहरू हुँदै अहिले नेपाली क्रिकेट अब अन्तर्राष्ट्रिय स्तरसम्म पुगिसकेको छ ।

नेपाल अब एक दिवसीय क्रिकेटको मान्यताप्राप्त राष्ट्र मात्र होइन, विश्वकपको प्रतिस्पर्धासम्म पुगिसकेको देश बन्न सफल भएको छ । पुरुष क्रिकेट मात्र नभएर नेपालको महिला क्रिकेट पनि अहिले विश्वस्तरीय प्रतिस्पर्धामा भाग लिन सक्ने भइसकेको छ । 

खासगरी अहिले क्रिकेट खेल एसियाली राष्ट्रहरूको एउटा ढुकढुकीका रूपमा स्थापित भइरहेको छ । छिमेकी भारतमा त यो खेल हरेक नागरिकको आस्था जस्तै बनिसकेको छ । यहाँ क्रिकेटलाई मनोरञ्जन, आर्थिकोपार्जन अनि व्यवसाय मात्र होइन, यसलाई त धेरै भारतीयले आफ्नो राष्ट्रियताको मानकसमेत बनाइसकेका छन् ।

अर्थतन्त्रका हिसाबले हेर्ने हो भने त विश्व क्रिकेटको आधाभन्दा बढी हिस्सा भारतकै देखिन्छ । यसमा लगानी गर्नेहरूको तँछाडमछाँड मात्र होइन, त्यसले गर्दा धेरै खेलाडीको जीवनस्तर पनि उकासिएको छ ।

अहिले भारतमा स–साना प्रतियोगिताहरू मात्र होइन, टोलटोलका क्रिकेट खेलाडीहरूको समेत प्रमुख आर्थिक र जीवनको आधार यही खेल बनेको छ र बिस्तारै नेपालमा पनि अब हरेक खेलाडीले क्रिकेट खेलेरै जीवन धान्ने आधारहरू तयार भइरहेका छन् ।

भर्खरै सम्पन्न एनपीएलको पहिलो संस्करण त्यसकै एउटा जीवन्त उदाहरण हो । एनपीएलको पहिलो संस्करणमै देखिएको लगानीको उत्साहले नेपालको अर्थतन्त्रलाई चलायमान बनाएको छ । यसको सुरुवाती भव्यताले एकातिर क्रिकेटमाथि लगानी सम्भावनाका ढोकाहरू खुलेका छन् भने यसबाट अरू व्यापार व्यवसायमा पनि फाइदा नै पुगेको छ ।

नयाँ पुस्ताका खेलाडीहरूलाई आकर्षित गर्न मद्दत गरेको छ भने स्थापित खेलाडीहरूलाई पनि अब भविष्यका लागि देशै छाड्नुपर्ने बाध्यता हट्दै छ भन्ने सन्देश दिएको छ । खेल खेलेरै नेपालमा पनि आरामदायी जीवन बाँच्न सकिन्छ भन्ने एनपीएलले सन्देश छाडेको छ । 

हरेक खेल जति व्यक्ति वा उसको व्यक्तिगत स्वास्थ्य तथा मनोरञ्जनका लागि आवश्यक छ, त्यत्तिकै राष्ट्र र राष्ट्रियताका लागि पनि खेल क्षेत्र सबल हुन जरुरी छ । तर, हाम्रो राज्यको नीतिगत तहमै खेल क्षेत्रलाई उति प्राथमिकता दिएको देखिँदैन । त्यसमा पनि खेल अनि खेलाडीको वृत्ति विकासका लागि गठन भएका संघसंस्थाहरूमै राजनीति घुस्दा अझ तहसनहस हुँदै गइरहेको अवस्था छ ।

टोलका गल्लीहरू हुँदै अन्तर्राष्ट्रिय मैदानसम्म पुगिसकेको नेपाली क्रिकेटको अवस्था पनि त्योभन्दा फरक छैन । क्रिकेटमात्रै होइन, अहिलेसम्म जति पनि खेलमा नेपालको नाम गाँसिएको छ, त्यो सब खेलाडीको आफ्नो मिहिनेत र परिश्रमबाट मात्र सम्भव भएको देखिन्छ । राज्यले न खेल क्षेत्रमा लगानी गरेको छ, न त खेलाडीलाई प्रोत्साहन गर्न सकेको छ । 

अन्तर्राष्ट्रिय स्तरसम्म पुगिसकेको क्रिकेटको हकमा पनि राज्यको यही र यस्तै उदासीनता छ । अहिलेसम्म नेपालमा अन्तर्राष्ट्रिय मापदण्डअनुसारको क्रिकेट मैदानसमेत छैन । अन्तर्राष्ट्रिय क्रिकेट संघको आधिकारिक मान्यता पाइसकेपछि २०५५ सालमा नेपालले पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको क्रिकेट प्रतियोगिताको आयोजना गर्ने मौका पाएको थियो । त्यही मौकामा कीर्तिपुर र पुल्चोकमा क्रिकेट मैदानहरू बनेका थिए । यद्यपि, पहिलोपल्ट भएको त्यो अन्तर्राष्ट्रिय स्तरको एसीसी ट्रफीमा नेपाल सबै खेलहरूमा पराजित भयो ।

तथापि, त्यसबाट नेपालमा क्रिकेटको व्यावसायिक यात्राको सुरुवात भएको मानिन्छ । त्यो बेला बनेको क्रिकेट मैदान नेपालमा ठूला प्रतियोगिताहरू खेल्ने र खेलाउने एक मात्र रंगशाला हो । यति हुँदासम्म पनि राज्य रंगशालालगायत खेल क्षेत्रको भौतिक विकासमा खासै उदार भएको देखिँदैन । ठाउँठाउँमा मैदानहरू बन्न सुरु भए पनि राज्यले त्यसको अपनत्व नलिँदा ती लथालिंग अवस्थामा छन् । 

खेल क्षेत्रको यो भौतिक दुरवस्थासँगै सयौं खेलाडीको पनि त्यस्तै अवस्था छ । एनपीएलकै बेला थाहा भयो, विश्वभरि थुप्रै त्यस्ता राम्रा नेपाली खेलाडीहरू पनि छन् । यही प्रतियोगिता खेल्नका लागि विश्वका ठूलाठूला क्लबहरूमा खेल्ने नेपाली मूलका खेलाडीहरू पनि एनपीएलमा सहभागी भए । उनीहरूलाई नेपालमै बस्ने वातावरण बन(ाउनु राज्यको दायित्व हो ।

त्यस्तै, मैदानहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसारको स्तरोन्नतिले अरू पनि थुप्रै अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिताहरू यहाँ खेलाउन सकिन्छ भन्ने सन्देश पनि एनपीएलले छाडेको छ ।

एनपीएलको पहिलो संस्करणमा खेलाडी, खेल क्षेत्र वा आर्थिक तथा सामाजिक क्षेत्रमा जुन खालको उत्साह, उमंग र गतिशीलता देखिएको छ, त्यसलाई राज्यले अवसरका रूपमा लिनुपर्छ ।

सबैभन्दा पहिला खेल क्षेत्रमा झाँगिएको राजनीतिको अन्त्य हुनुपर्छ अनि राज्यले नीतिगत तहमै खेल क्षेत्रको भौतिक विकास र खेलाडीको व्यक्तिगत जीवनका लागि निर्णायक भूमिका खेल्नुपर्छ ।

ADVADV

सम्बन्धित खबर

Advertise