रौतहट : रौतहटको गरुडा नगरपालिकाका प्रमुख कन्थमनी प्रसाद जयसवालले गरीब तथा विपन्न परिवारलाई न्यानो कपडा वितरण गरेका छन् ।
नगर प्रमुख जयसवालले गरुडा नगरपालिका -७ पिपरिया दोस्तियामा आर्थिक रूपले पिछडिएका गरीब, असहाय, दलित एवं विपन्न परिवारका सदस्यहरूलाई मंगलवार साँझ ब्ल्यांकेट वितरण गरेका हुन् ।
नगरका प्रत्येक गरीब घर परिवारलाई न्यानो कपडा वितरण गर्ने अभियानअन्तर्गत आफूले नगरपालिकाको तर्फबाट पिपरीया दोस्तियाका एक सय भन्दा बढी परिवारलाई न्यानो कपडा उपलब्ध गराएको नगर प्रमुख जयसवालले बताए । साथै नगरपालिकाको प्रत्येक वडामा न्यानो कपडा वितरण गर्ने उनले बताए ।
नगरपालिकाबाट न्यायो कपडा पाउँदा निकै खुसी भएको प्रतिक्रिया विपन्न परिवारले दिएका छन् । यसले चिसो छल्न निकै सहज हुने उनीहरूको भनाइ छ ।
आम जनतालाई स्थानीय सरकारको अनुभूति गराउने उद्देश्यले मेयर जयसवालले जनतालाई आवश्यक पर्ने कम्बल, ब्ल्यांकेट, छठ पूजा सामग्री, खाद्यान्न लगायतका विभिन्न सामानहरू उपलब्ध गराउँदै आएका छन् ।
नगरवासीलाई पैसाको अभावमा कुनै बेला कुनै प्रकारको समस्या नहोस् भन्ने उद्देश्यले आफू सहयोग गर्न हरदम तत्पर रहेको नगर प्रमुख जयसवालको भनाइ छ ।