२०८३ असोज २६ गते सोमवार / Oct 12 , 2026 , Monday
२०८३ असोज २६ गते सोमवार

कपिलवस्तु अस्पतालमा मुख्यमन्त्री आचार्यको छड्के निरीक्षण

Nada
सूर्यप्रसाद भुसाल
२०८१ पुष १० गते २०:५१
Shares
कपिलवस्तु अस्पतालमा मुख्यमन्त्री आचार्यको छड्के निरीक्षण

कपिलवस्तु : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले शिवराज अस्पताल बहादुरगञ्जको छड्के  अनुगमन गरेका छन् । यस्तै उनले अनुगमनपछि सरोकारवालासँग अस्पताल सुधार विस्तारबारे छलफल गरेका छन् । अस्पतालले दिँदै आएको उपचार सेवा र भर्ना भएका बिरामीहरुलाई भेट  गरी मुख्यमन्त्री आचार्यले बिरामीसँग अस्पताल प्रशासन चिकित्सकहरुले गर्ने व्यवहारका बारेमा जानकारी लिन अस्पतालमा पुगेका थिए । 

ncell

अस्पतालको भौतिक पूर्वाधार सुधार, जनशक्ति व्यवस्थापन लगायतका क्षेत्र सुधार गर्नुपर्ने, उपचार सेवामा नागरिकको सहज पहुँच सुनिश्चित गर्नेतर्फ ध्यान दिने बताउँदै मुख्यमन्त्री आचार्यले कर्मचारी तथा स्थानीयलाई समेत जानकारी नदिइ अस्पताल पुगेका थिए ।

‘उपचार सेवालाई प्रभावकारी बनाउनुपर्छ । भौतिक पूर्वाधार सुधार र जनशक्ति व्यवस्थापनको काम समन्वयको आधारमा हुनेछन्’मुख्यमन्त्री आचार्यले अस्पताल परिसरमा भने ‘अस्पतालले दिने उपचार सेवालाई प्रभावकारी बनाउन, आवश्यक पूर्वाधार निर्माण गर्न प्रदेश सरकारले आगामी वर्षको बजेटमा सम्वोधन गर्ने कोसिस गर्नेछ ।’

अस्पतालमा उपचार सेवा प्रभावकारी हुँदै गएको, दैनिक उपचारमा आउने बिरामीको संख्या बढ्दै गएको जानकारी अस्पतालको तर्फबाट दिइएको थियो । १५ वेडको अस्पताल भएपनि बिरामीको चाप बढेकाले अहिले २५ वेडको सुविधा प्रदान गरिएको छ । 

बहिरंग सेवाका लागि दैनिक एक सय ५० देखि दुई सय जना बिरामी आउने गरेका छन् । करिब ३० जना बिरामी भर्ना गरेर उपचार सेवा प्रदान गरिएको अस्पतालका डा.विनोद बढैले जानकारी दिए । 

‘बिरामीको चाप बढ्दो छ । यो अस्पताललाई प्रदेश मातहतमा लैजाँदा सेवा सुविधा प्रदान गर्न थप सहज हुने थियो’डाक्टर बढैले भने,‘अस्पतालले प्रदान गर्ने सेवा सुविधा थप गर्ने र सबैको पहुँचमा पुर्‍याउने गरी भूमिका बढाएका छौं ।’ अस्पताल व्यवस्थापन समिति, स्वास्थ्यकर्मी लगायत स्थानीय सरोकारवाला पक्षसँग मुख्यमन्त्री आचार्यले छलफल गरी बिरामिको उपचारमा ध्यान नदिने चिकित्सकलाई कारबाही गर्ने चेतावनी दिए । मुख्यमन्त्रीले भने ‘मैले अस्पतालहरुको छड्के अनुगमन सुरु गरेको छु । म कतिबेला अस्पताल पुग्छु भन्ने कुरा सचिवालयका कर्मचारीलाई समेत जानकारी हुँदैन ।’

ताजा खबर

सम्बन्धित खबर