अर्घाखाँची : अर्घाखाँचीमा क्लिक इन्टरनेसनल एजुकेसन, काठमाडौंले विद्यार्थी र शिक्षकहरूलाई न्यानो कपडा वितरण गरेको छ । मालारानी गाउँपालिका वडा नं. ४ का ३ वटा विद्यालयमा अध्ययनरत विद्यार्थी र अध्यापनरत शिक्षकहरूलाई न्यानो कपडा विरतण गरिएको हो ।
तीन वटा विद्यालयमा अध्ययनरत ३ सय २० जना विद्यार्थीलाई गाउँपालिका अध्यक्ष दलबहादुर भट्टराईमार्फत ट्याक्सुट सेट वितरण गरिएको हो । किरण माध्यमिक विद्यालय निन्युखर्कका २ सय ५० जना विद्यार्थी, १७ जना शिक्षक, जाँलकाँडा आधारभूत विद्यालय थामका ५० जना विद्यार्थी, ७ जना शिक्षक र सार्वजनिक आधारभूत विद्यालय ब्याडपाटाका २० जना विद्यार्थी गरी ३ सय ४४ जना विद्यार्थी र शिक्षकलाई न्यानो कपडा प्रदान गरिएको हो ।
किरण मा.वि. निन्युखर्क खनमा कपडा वितरण कार्यक्रममा बोल्दै मालारानी गाउँपालिकाका अध्यक्ष भट्टराईले चिसो बढिरहेको समयमा यसरी विभिन्न स्कुलका विद्यार्थी र शिक्षकहरूलाई न्यानो कपडा वितरण गरेको भन्दै क्लिकलाई धन्यवाद दिए ।
“जाडोबाट बच्न र बचाउन” भन्ने उद्देश्यका साथ न्यानो कपडा वितरण गर्न पाउँदा आफूलाई निकै खुसी लागेको क्लिक इन्टरनेसनल एजुकेसनका म्यानेजिङ डाइरेक्टर गोविन्द खनालले बताए ।
यसैगरी किरण मा.वि.का विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद खनालले विद्यार्थीहरुलाई न्यानो कपडा सरकारले दिनुपर्नेमा क्लिक इन्टरनेसनल एजुकेसनले वितरण गरेको भन्दै मुक्तकण्ठले प्रशंसा गरे । विभिन्न स्कुलमा भएको कपडा वितरण कार्यक्रममा जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक संघ, विद्यार्थीलगायतको उपस्थिति रहेको थियो ।