पत्रकारिता जिम्मेवार पेसा हो । त्यसैले सरकारका तीन मुख्य अंग कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकापछिको ठाउँ पत्रकारितालाई दिँदै चौथो अंग भन्ने गरिएको छ ।
चौथो अंग पत्रकारिताको मुख्य काम सूचनाको सम्प्रेषण गर्दै सरकारी तथा निजी क्षेत्रका काममा ‘वाच डग’ को भूमिका निर्वाह गर्नु हो । राणा शासनदेखि पञ्चायतको कालरात्रिसम्म झेलेर यहाँसम्म आएको पत्रकारिताका आफ्नै लामो इतिहास छ । यसले निरंकुश व्यवस्था ढालेर प्रजातन्त्र ल्याउनमा खेलेको भूमिका उल्लेखनीय छ । मिसन पत्रकारितापछि व्यवसायिक पत्रकारिताको अध्याय सुरु भएको छ । तर, व्यावसायिक पत्रकारिताको यात्रामा विकृत दृश्यहरू बढेर गएका छन् भन्दा अन्यथा हुँदैन । यसमा कान्छो र वैकल्पिक पत्रकारिताका रूपमा विकास भएको अनलाइन पत्रकारिता निकै आलोकाचो देखिएको छ । अनलाइन पत्रकारितामा बाढी आएको केही समयको दौरानमा पत्रकारिताको मूलभूत धर्म निर्वाह गर्न कतिपय अनलाइन चुकेका छन् । एक्कुरेसी, ब्यालेन्स र क्रेडिबिलिटी पत्रकारिताको मूल मर्म भए पनि अनलाइन पत्रिकाहरूमा यसको गुञ्जायस भेटिँदैन ।
पछिल्लो समय कोरोनाले विश्वमै त्रस्त बनेको छ । विभिन्न पेसा तथा व्यवसायीहरूले यसप्रति सजगता अपनाउँदै न्यूनीकरणमा योगदान दिइरहेका छन् । पत्रकारिताजस्तो जिम्मेवार पेसाको भूमिका यहाँनिर अहं हुनुपथ्र्यो । तर, छापा माध्यमको हकमा गुनासो गर्ने ठाउँ नभए पनि पत्रकारिताको मूल मर्म नबुझेका कतिपय अनलाइनका कारण तथ्यभन्दा तथ्यहीन सामग्रीहरू प्रकाशमा आइरहेका छन् । जसले आममानिसलाई विश्वस्त हुन नदिएर त्रसित बनाएको छ । सञ्चार माध्यमहरूको नियामकारी निकाय प्रेस काउन्सिल नेपाल पनि यसप्रति गम्भीर देखिएको छ । उसले पटक–पटक यस्ता विकृत पत्रकारिता नगर्न आग्रह गर्दै आएको छ । बिहीबार मात्रै पनि उसले एक विज्ञप्ति जारी गर्दै जिम्मेवार ढंगले सूचना सम्प्रेषण गर्न आग्रह गरेको छ । पत्रकारिता उपार्जनको माध्यम नभएर जिम्मेवार पेसा भएकाले पहिले त यसको गलत अभ्यास गर्नेहरूले गलत बाटो छाड्नु पर्छ । र, काउन्सिलले भने लगामबिनाका घोडाजस्ता बनेका सञ्चारमाध्यमहरूलाई त्यत्तिकै छाड्न हुँदैन । कडाभन्दा कडा कारबाही गरेर पत्रकारितामा थुप्रिएको फोहोर सोहोर्नु पर्छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies