विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले विश्वव्यापी महामारी घोषणा गरेको कोरोना भाइरसको संक्रमणबाट एकै दिन झण्डै दुई हजारको मृत्यु भएको छ । शुक्रबार दश हजार पुगेको मृतक संख्या शनिबार १२ हजार हाराहारी पुगेको छ । गएको नोभेम्बरबाट देखिएको कोरोना भाइरसको संक्रमणबाट एकै दिन यति धेरै संख्यामा मृत्यु भएको अहिलेसम्मकै उच्च हो । इटालीमा मृतक संख्या चार हजार नाघेको छ । चीन सरकारले भने महामारी नियन्त्रणमा लिन सफल भएको छ । चीनले तीन हजारमै मृतक संख्या रोक्न सफल भएको छ । कोरोनाको संक्रमणबाट १८६ देशमा झण्डै तीन लाख मानिस प्रभावित बनिसकेको छ ।
हुपेई प्रान्तको वुहान शहरबाट फैलिएको कोरोना संक्रमण रोकथामका लागि नेपाल सरकारले पनि ‘सेमि लकडाउन’ घोषणा गरेको छ । चैत १० गतेबाट लामो दुरीको यातायात रोकेको छ भने अन्तर्राष्ट्रिय उडान रोक्ने उच्च स्तरीय समितिले निर्णय गरिसकेको छ । शुक्रबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन मार्फत् कोरोनाको संक्रमणबाट बच्न उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् । प्रधानमन्त्रीको सम्बोधनपछि राजधानी उपत्यका सहित देशका ठूला सहरहरु सुनसान देखिन थालेको छ । अत्यावश्यक बाहेकका काम रोक्न सरकारले निर्देशन दिएपछि मुलुक नै ठप्प जस्तो बनेको छ ।
विकसित मुलुकलाई समेत यो महामारीबाट बच्न हम्मे–हम्मे परिरहेका बेला सरकारको निर्णय उचित नै छ । किनभने, अहिलेसम्म कोरोनाको संक्रमण फैलिन नसकेको नेपालले सावधानी अपनाउनु नै उचित हुनेछ । यस्तो बेला सवै नेपाली एक जुट हुनुको विकल्प पनि छैन । विशेषगरी जनताको स्थायी प्रतिनिधि मानिने राजनीतिक दलहरुको भूमिका महत्वपूर्ण हुनेछ । वडा तहसम्म रहेको दलीय संरचना सरकार बाहेक अर्को भरपर्दो माध्यम हो । त्यसैले दलहरुले आफ्नो स्थानीय तहसम्म फैलिएको संरचना मार्फत् कोरोनाबाट बच्ने विधि सिकाउन सक्छन् । चिकित्सकहरुले दिएको सुझावअनुसार, सुरक्षित रहन दलका तल्ला तहमा रहेका कार्यकर्ताहरु बढी प्रभावकारी हुन सक्छ । त्यसै पनि दलहरु जनताका स्थायी प्रतिनिधि रहेको र उनीहरु सामान्य नागरिक भन्दा बढी सचेत हुने भएकाले पनि त्यसैअनुससार परिचालन गर्न सक्छन् । परिचालनको अर्थ तुलब्यानर बोकेर भीडभाड गर्ने नभई अन्य माध्यमबाट संगठनलाई परिचालन गर्न सकिन्छ । जसले सरकारको अभियानलाई मात्रै साथ पुग्ने नभई सिंगो समाजलाई जोगाउन सकिन्छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies