काठमाडौं : खाडी र अफ्रिकी मुलुकमा रहेका नेपाली राजदूतहरूले नेपाली कामदारहरू सुरक्षित रहेको जानकारी दिएका छन् । सोमबार दिउँसो परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवसँगको भिडियो कन्फरेन्सका क्रममा खाडी र अफ्रिकास्थित नेपाली राजदूतहरूले यस्तो जानकारी दिएका हुन् ।
केही मुलुकका रोजगारदाताहरूले सुरुमा नेपाली कामदारहरूलाई फरक व्यवहार गर्न खोजे पनि कोरोना भाइरस (कोभिड–१९) संक्रमण विश्वव्यापी भएको स्पष्ट भएपछि मानवीय संवेदनाका आधारमा खानपान, स्वास्थ्य तथा आवासको प्रबन्ध गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री यादवले मध्यान्ह राष्ट्रिय दैनिकलाई जानकारी दिए ।
मन्त्रालयका सचिवहरू, उच्च अधिकारी तथा विभागीय प्रमुखले विभिन्न पेसा व्यवसाय गरेर खाडी तथा अफ्रिकी देशमा बसिरहेका नेपालीहरूको अवस्थाबारे राजदूत र नियोग प्रमुखसँग छलफल गरेका थिए । नेपालका दुई मन्त्री सचिव तथा विभागीय मन्त्रीहरू एकै ठाउँमा बसेर नेपाली कामदार र कर्मचारी तथा अन्य व्यवसायीका बारेमा जानकारी लिएको घटनाले कामदारहरूका समस्या समाधान गर्न नियोगहरूलाई उत्प्रेरित गरेको मन्त्री यादवको भनाइ छ ।
लाखौं नेपाली वैदेशिक रोजगारीका लागि खाडी तथा मलेसियामा रहेका भए पनि बहराइनमा ३ र युएईमा २ जना नेपाली कोरोना भाइरसबाट संक्रमित भएको सार्वजनिक भएको छ ।
कन्फरेन्सका क्रममा राजदूत र दूतावासका कर्मचारीहरूलाई आ–आफ्ना देशका सरकार, रोजगारदाता र नेपाली समुदायसँग निरन्तर सम्पर्कमा रहन, आवश्यक सहयोग पु¥याउन र स्थितिको गम्भीरताका साथ आकलन गरी रिपोर्ट गर्न परराष्ट्रमन्त्री ज्ञवालीले निर्देशन दिएका छन् ।
कोरोना संक्रमणलाई फैलिन नदिन नेपाली कामदार रहेका विभिन्न मुलुकमा आवागमन तथा जमघटलाई थप रोक्न कडा कदमहरू चालिएका छन् । ठूलो संख्यामा नेपाली कामदार रहेको साउदी अरबले गएराति देखि २१ दिनसम्म रात्रिकालीन कफ्र्यू घोषणा गरेको छ ।
कोरोनाको संक्रमण बढ्दै गएपछि त्यसलाई रोक्न साउदीका राजा सलमान बिन अब्दुल अजिज आल साउदले सोमबार रातिदेखि नै लागू हुनेगरी रात्रिकालीन कफ्र्यू घोषणा गरेका हुन् ।
साउदी अरबस्थित नेपाली दूतावासले नेपालीहरूलाई वाहिर ननिस्कन आग्रह गरेको छ । साउदी अरबको स्थानीय समयअनुसार, सोमबार बेलुकी ७ बजेदेखि बिहान ६ बजेसम्म कफ्र्यू लाग्ने छ । साउदीमा सोमबार दिउँसोसम्ममा ५११ जनामा कोरोनाको संक्रमण भए पनि नेपाली श्रमिक सुरक्षित रहेको नेपाली दूतावासले जनाएको छ । यूएईमा भने सोमबार कोरोना भाइरसका थप ४५ संक्रमित देखिएका छन् ।
नेपाली कामदारहरूको ठूलो संख्या रहेका मलेसियामा पनि संक्रमितहरूको संख्या बढिरहेको छ । सोमबार भेटिएका २१२ सहित मलेसियाका संक्रमितको संख्या १५१८ पुगेको छ । त्यहाँ संक्रमणका कारण १४ जनाको ज्यान गइसकेको छ । मलेसियामा मृत्यु हुनेहरू मध्ये अधिकाश ४९ वर्षदेखि ७० वर्ष उमेरका रहेको त्यहाँका सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies