लेटाङ, मोरङ : बेलबारी नगरपालिकालाई ३-० ले पराजित गर्दै कानेपोखरी गाउँपालिका लेटाङमा जारी प्रथम अन्तरपालिका नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार प्रस्तावित बुद्ध रंगशालामा सम्पन्न खेलमा कानेपोखरीका लागि अभि लिम्बूले २ गोल तथा सुरज लिम्बूले १ गोल गरे ।
खेलको १५ र १९ मिनेटमा अभि लिम्बूले गोल गरे भने सुरजले खेलको ५७औं मिनेटमा गोल गरे । विजयी टिमका कर्मा तामाङ म्यान अफ द म्याच घोषित भए ।
प्रतियोगितअन्तर्गत सोमबार मिक्लाजुङ गाउँपालिका र पथरीशनिश्चरे नगरपालिकाबीच प्रतिस्पर्धा हुने छ । मोरङ जिल्लाभित्रका ८ वटा पालिकाहरु सो प्रतियोगितामा सहभागी छन् ।
उज्यालो जीवन प्रतिष्ठान र चिसाङ भ्याली क्लबले आयोजना गरेको प्रतियोगिताको उद्घाटन पूर्वखेलकुदमन्त्री डिगबहादुर लिम्बूले गरेका हुन् । प्रतियोगिताको विजेताले नगद १ लाख र ट्रफी प्राप्त गर्ने छ भने उपविजेताले ५० हजार नगद प्राप्त गर्ने छ ।