पथरी : मोरङको पथरी शनिश्चरेको कीर्तिपुरमा एकाबिहानै पुग्ने हो भने एक हुल विधार्थी जनकल्याण माध्यमिक विद्यालयको मैदानमा भेला भएको देखिन्छ । भेला भएकाहरूमध्ये कोही शारीरिक अभ्यासमा व्यस्त हुन्छ्न् भने कोही बलिङ, ब्याटिङ र फिल्डिङको अभ्यास गरिरहेका हुन्छ्न् । जसको कमाण्ड सम्हालेका छ्न्, राकेश राईले ।
कीर्तिपुर एकेडमीले सुरु गरेको क्रिकेट प्रशिक्षणमा ४० भन्दा बढी बालबालिकाले नियमित सहभागिता जनाउँछन् । १० वर्षदेखि १६ वर्षसम्मका बालबालिका नियमित प्रशिक्षणमा सहभागी हुने गरेको एकेडमीका निर्देशक पुकार राई बताउँछ्न् ।
१८ जना बालिका र २२ बालकलाई नियमित प्रशिक्षण गराइरहेको एकेडमीले राष्ट्रिय स्तरमा क्रिकेट खेलाडी उत्पादन गर्ने लक्ष्य राखेको छ । पछिल्लो पटक प्रधानमन्त्री कप महिला क्रिकेटका लागि यसै एकेडमीका २ जना खेलाडीलाई मोरङ जिल्लाको बन्द प्रशिक्षणमा राखिएको छ ।
कीर्तिपुरकै सरु सुब्बा अहिले अन्तर्राष्ट्रिय स्तरमा खातिप्राप्त फुटबल खेलाडी हुन् । महिला फुटबल टिमको नियमित सदस्य उनी सशस्त्र प्रहरी क्लबमा आबद्ध भएकी छन् ।
सरु जस्तै खेलाडीको उद्गमस्थल हो कीर्तिपुर । फुटबलमा मात्र खेलाडी उत्पादन गरिराखेको कीर्तिपुरले अब अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी उत्पादन गर्न महिला क्रिकेट प्रशिक्षण सुरु गरेको छ । ‘मोरङ जिल्लाले प्रधानमन्त्री कप महिला लिगका लागि बन्द प्रशिक्षणमा एकेडमीका स्मारिका गौतम र सुभेक्षा लिम्बूलाई बन्द प्रशिक्षणमा राख्नु हाम्रो सफलता हो,’ प्रशिक्षक राईले भने ।
नियमित क्रिकेट अभ्यास गराइरहेको कीर्तिपुरको अभ्यासस्थलमा सहभागी हुन पुगेका बालबालिका निक्कै फुर्तीका साथ खेल मैदानमा उत्रिन्छन् । प्रशिक्षक राईले टिम बनाइदिन्छन् र सोहीअनुसार आ-आफ्नो टिममा सहभागी भएर खेल मैदानमा उत्रिन्छन् उनीहरू ।
एकेडमीमा खेलसँगै अनुशासन र जिम्मेवारी पनि सिकाइने प्रशिक्षक राई बताउँछन् । घरमा के काम गर्ने ?, विद्यालयमा, साथीभाइसँग कस्तो व्यवहार गर्ने ? लगायत विषय पनि अनौपचारिकरूपमा सिकाउने गरिएको उनले बताए । प्रशिक्षकलाई गुरु मान्ने गरेका बालबालिका पनि गुरुले भनेको पालना गर्नुपर्ने मनसायमा देखिन्छन् ।
पछिल्लो समय स्थानीय तहमा वडादेखि नगरस्तरीय प्रतियोगिता हुने गरेको र राष्ट्रिय खेलाडीसम्म पुग्ने माध्यमको रूपमा यस्ता प्रशिक्षण फलदायी हुने प्रशिक्षक राईको बुझाइ छ । क्रिकेट क्षेत्रमा लामो समय व्यतित गरेका राई हालै बेसिक लेभल प्रशिक्षक बनेका छन् । राईले सिकेको सीप तथा कला आफ्नै गाउँका बालबालिकालाई प्रदान गरिरहेका छन् ।
एकेडमीकै अग्रसरतामा क्रिकेट खेलाडीका लागि नेट प्रशिक्षण गर्न नेटसमेत बनाउन थालिएको छ । ७ नम्बर वडा कार्यालय र ८ नम्बर वडा कार्यालयले आर्थिक सहयोग गरेपछि पक्की क्रिजसहितको ‘नेट प्राक्टिस’ सम्भव भएको हो ।
एकेडेमीले गरिरहेको यो कार्यलाई नेपाल क्रिकेट फाउन्डेशनले समेत सहयोग गरिरहेको छ । फाउन्डेशनले प्रशिक्षण गरिरहेका खेलाडीलाई खेल सामग्री सहयोग गरिरहेको छ । यसले समेत एकेडमी संचालन गर्न सहज भएको छ ।
क्रिकेटप्रतिको ‘क्रेज’ बढ्दै जाँदा अभिभावकसमेत सकारात्मक बनेका छन् । क्रिकेट खेलेर छोरीले राष्ट्रको नाम राख्नेमा विश्वास्त छन् अभिभावक इन्द्र गौतम । यही एकेडमीमा प्रशिक्षण गरेका खेलाडीले हालै इक्वालिटी कपमा सहभागी भएर उत्कृष्ट प्रर्दशन गरेपछि एकेडमीको प्रभावसमेत देखिन थालेको छ ।
क्रिकेट विकासका लागि ‘ग्रासरुट’बाट स्वस्फूर्त रूपमा सुरु भएको यस्ता एकेडमी भने राज्यका खेलकुद संघ संस्थाको नजरबाट टाढा रहेको खेलप्रेमीहरू बताउँछन् ।