काठमाडौं : अमेरिकी पूर्वराष्ट्रपति जिमी कार्टरको सय वर्षको उमेरमा सोमबार निधन भएको छ । अमेरिकाको जर्जियास्थित प्लेन्समा कार्टरको निधन भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
कार्टर अमेरिकाको ३९ औं राष्ट्रपति हुन् । डेमोक्र्याटिक पार्टीबाट उनी सन् १९७७ देखि १९८१ सम्म अमेरिकाको राष्ट्रपति थिए । अमेरिकी राष्ट्रपतिहरुमा उनी धेरै बाँच्नेमा परे ।
सय वर्षसम्म बाँचेका कार्टर राष्ट्रपतिबाट बाहिरिएपछि उनले कार्टर सेन्टर खोलेका थिए । जस मार्फत् संसारका ८९ देशहरुमा काम गरे ।
जिमी कार्टरको नेपाल साइनो पनि जनस्तरमै चिनिने छन् । नेपालसँग साइनो भएका अमेरिकी राष्ट्रपति कार्टर मात्र हुन् ।
शान्ति स्थापना, प्रजतन्त्त र स्वास्थ्य क्षेत्रमा सक्रिय रहँदा उनी नेपाल दुईपटक आएका थिए । पहिलो संविधान सभाको निर्वाचन २०६४ र दोस्रो संविधान सभाको निर्वाचन २०७० मा उनी नेपाल आएका थिए । नेपालको शान्ति प्रक्रियासँग समेत कार्टर जोडिएका थिए ।
दश वर्षसम्म सशस्त्र विद्रोह गरेको माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन उनको भूमिका थियो । नेपालका नेताहरु अमेरिका लगेर र यही पनि शान्ति प्रक्रियाको भूमिका सचेत गराएका थिए ।
शान्ति प्रक्रिया र २०७२ सालको नेपालको संविधान जारी गर्न मात्र नभएर जिमी कार्टरले २०३३ सालमा विश्वेश्वरप्रसाद कोइरालालाई जेलबाट निकाल्न समेत मद्दत गरेका थिए । पञ्चायती शासकले नेपाली कांग्रेसका संस्थापक नेता बीपीलाई पटकपटक जेलसजाय दिएको थियो । त्यसबेला कार्टर अमेरिकी राष्ट्रपति थिए ।
अमेरिकी राष्ट्रपतिको हैसियतमा उनले बीपीलाई जेलमुक्त गर्न भूमिका खेलेका थिए ।