२०८१ पुष १९ गते शुक्रवार / Jan 03 , 2025 , Friday
२०८१ पुष १९ गते शुक्रवार
Ads

आरोप-प्रत्यारोपमा एमाले-माओवादी

ADV
अस्मिता बम
२०८१ पुष १६ गते ०६:४०
आरोप-प्रत्यारोपमा एमाले-माओवादी

काठमाडौं : सरकारको नेतृत्वकर्ता दल नेकपा एमाले र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र आरोप-प्रत्यारोपमा उत्रिएका छन् । 

गिरी बन्धु टी–स्टेटको जग्गा प्रकरणसँग जोडेर प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना माओवादी केन्द्रले गरिरहेको छ । यही बेला एमालेले नुवाकोटको शेरा दरबारको जग्गा देखाएर माओवादी अध्यक्ष प्रचण्डलाई प्रश्न गर्न थालेको हो । 

सोमबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीको निर्वाचन क्षेत्र झापा– ५ को गौरीगंज गाउँपालिका वडा– ३ पुगेका थिए । गौरीगंजमा गाउँ सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले गिरी बन्धु, ओम्नी, नक्कली भुटानी शरणार्थी प्रकरणलाई पर्दाफास गरेरै छाड्ने बताए । गिरी बन्धुको विषय उठेपछि आफू नेतृत्वको सरकार ढलेको भनेर प्रचण्डले ओलीको आलोचना गरे । 

‘गिरी बन्धुको कुरा उठेपछि एमालेको हेडक्वार्टर तानिने अवस्था आयो । बेचन झा पक्राउ परेपछि सुई अर्कातिर सोझियो अनि रातारात गठबन्धन तोडियो र अप्राकृतिक गठबन्धन बन्यो’, नयाँ सरकार गठनबारे प्रचण्डको टिप्पणी छ । 

आफ्नो पार्टीको आलोचना गर्न शेरा दरबारको जग्गामा जोडेर प्रचार गरिएको भन्दै प्रचण्डले आपत्ति जनाए ।

‘१२–१५ वर्षअघि पार्टी छाडिसकेका मान्छेको जग्गाको विषय ल्याएर माओवादीको मानिस रहेछ भनेर शेरा दरबारमा प्रचार गरिएको छ । योभन्दा बेइमानी केही हुनै सक्दैन’, प्रचण्डले भने । 

एमाले नेताहरूले शेरा दरबारको जग्गा सरकारको भएको बताइरहेका छन् । सरकारको भए तुरुन्तै सरकारका नाममा ल्याउन पनि एमाले नेतृत्वको सरकारलाई प्रचण्डको चुनौती छ । 

‘ओली सरकारलाई म चुनौती दिन चाहन्छु, शेरा दरबारको जग्गा सरकारको हो भने तुरुन्त सरकारमा ल्याऊ, मेरो पूरै साथ हुने छ । तर, राजनीतिमा बेइमानी प्रचार नगरौं’, अध्यक्ष प्रचण्डले भनेका छन् । 

नुवाकोटको विदुर नगरपालिका– २ मा रहेको शेरा दरबार पृथ्वीनारायण शाहको पालामा बनेको हो । दरबार र जग्गा गरी कुल १८४ रोपनी ४ आना क्षेत्रफलको जग्गा छ । दरबारको जग्गा कुनै एक कम्पनीका नाममा नियन्त्रणमा रहेको विषय बाहिर आएको छ । 

माओवादी अध्यक्ष प्रचण्ड मात्र होइन, अन्य नेताहरू पनि सरकार र सत्तारूढ दलप्रति आक्रामक रहेका छन् । 

माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन वर्तमान सरकार जनताको चाहना पूरा गर्नभन्दा बिचौलिया, भ्रष्टाचारी र सुशासनका बाधकहरूको रुचिअनुसार बनेको आरोप लगाउँछन् । 

माओवादी केन्द्र प्युठान जिल्ला, नौबाहिनी गाउँपालिकाको तेस्रो अधिवेशनलाई सम्बोधन गर्दै उनले भनेका छन्, ‘देउवा बालकोट पुगेर नक्कली भुटानी शरणार्थी काण्डमा जसरी हुन्छ बचाउनुस्, प्रधानमन्त्री खानुस् भनेर ओलीलाई अफर गरे, बेचन झाहरू पक्राउ परेपछि जसरी हुन्छ हामीलाई बचाउनु, प्रधानमन्त्री लिनु भन्ने अफर भयो ।’ 

एमाले नेताहरूमा पनि एउटा तरंग भइरहेको र कांग्रेसको प्रस्तावपछि रातारात गठबन्धन बनेको उल्लेख गर्दै उनी भन्छन्, ‘बिचौलियाहरूको डिजाइनमा सरकार बनाए ।’

एमालेका महासचिव शंकर पोखरेल भने राजनीतिक स्थिरतासहित देश विकासका पक्षमा सत्तारूढ दलहरू रहेका बताउँछन् । एमाले दाङको प्रचार तथा प्रकाशन विभागले सोमबार दाङको घोराहीमा गरको कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले सरकारको विरोध गर्नुको सट्टा रचनात्मक सहयोग गर्न प्रतिपक्षी दलहरूलाई आग्रह गरे ।

उनले भनेका छन्, ‘मुलुकमा राजनीतिक स्थिरता, अर्थतन्त्र सुधार र सुशासनका पक्षमा सरकारले काम गरिरहेको छ । यो बेला सरकारको विरोध गर्नुको सट्टा रचनात्मक सहयोग गर्नु आवश्यक छ ।’

ADVADV

सम्बन्धित खबर

Advertise