काठमाडौँ : दक्षिण कोरियाका निलम्बित राष्ट्रपति यून सुक योलविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । मंगलबार सियोल पश्चिम जिल्ला अदालतले राष्ट्रपति योलविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।
उनले ३ डिसेम्बरको दिन सैनिक शासन लागू गर्ने निर्णय गरेपछि विवादमा परेका थिए । विपक्षी दलसमेतको विरोधपछि उनीले ६ घण्टामै निर्णय फिर्ता लिएका थिए । यही प्रकरणमा संसदले महाअभियोग प्रस्ताव पारित गरेपछि उनी पदबाट निलम्बित अवस्थामा छन् ।
भ्रष्टाचार अनुसन्धान कार्यालयका अधिकारीले तीनपटकसम्म राष्ट्रपति योललाई उपस्थित हुनका लागि आग्रह गरेका थिए । तर, उनी उपस्थित नभएपछि अनुसन्धानमा बाधा पुगेको भन्दै सोमबार मात्रै राष्ट्रपति योलविरुद्ध पक्राउ पुर्जीको अनुमति माग गरिएको थियो ।
संयुक्त जाँच मुख्यालयले विज्ञप्ति जारी गरी निलम्वित राष्ट्रपति योलमाथि अनुसन्धानका लागि मंगलबार बिहान पक्राउ पुर्जी र खानतलासीको पुर्जी जारी भएको जानकारी दिएको छ ।