२०८१ पुष २० गते शनिवार / Jan 04 , 2025 , Saturday
२०८१ पुष २० गते शनिवार
Ads

८४ वर्षमा पनि गाउँबस्ती डुल्दै व्यापार

ADV
मध्यान्ह
२०८१ पुष १६ गते १६:१९
८४ वर्षमा पनि गाउँबस्ती डुल्दै व्यापार

कञ्चनपुर : चाउरी परेको अनुहार, सेतै फुलेका दाह्री, जुँगा, झुत्रा पहिरन र साइकलको पछाडि रंगीचंगीआकर्षक डोरी । यही हुलियामा सखारै घरबाट निस्किने गर्छन्, वेदकोट नगरपालिका–१० दैजीका रामस्वरुप राना ।

साइकलमा गाउँबस्ती डुल्दै डोरी बेचेर बेलुकी घर फर्कनु उनको दैनिकी हो । ८४ वर्षको वृद्ध उमेरमा पनि उनको जोसजाँगर युवावयमा भन्दा कम छैन । उनले फालिएका प्लास्टिक संकलन गरेर बनाइएका डोरी, जाल, मुखौरीलगायत बिक्री गरी जीविका चलाइरहेका छन् । “छोराहरु बेरोजगार छन् । खेतीपाती गर्न जमिन छैन । बिहान बेलुका के खाउँ, भन्ने अवस्था छ,” उनले भने, “डोरी बेचेरै पेट पालिएको छ ।”

डोरी, जाल, मुखौरी बनाउने सीप भएका छिमेकीलाई ती तयार गरेबापत रामस्वरुप रु एक सय दिन्छन् । फुर्सदमा उनी चाउचाउ, बिस्कुटलगायत प्लास्टिक संकलन गर्छन् । भीमदत्त र बेदकोट नगरपालिकाका विभिन्न गाउँबस्ती साइकलमा डुलेर ती सामग्री बिक्री गर्छन् । उनका अनुसार रु दुई सय ५० देखि पाँच सय सम्ममा ती सामग्री बिक्री हुन्छन् । ग्रामीण क्षेत्रमा वनजंगलबाट पातपतिंगर ल्याउन जालको प्रयोग गरिन्छ । चिसोयाम भएकाले गोठका वस्तुभाउलाई न्यानो बनाउन जंगलबाट पात ल्याइने हुँदा जाल बिक्री भइरहेको छ,” उनले भने, “आकारअनुसार फरक फरक दरमा बेच्छु । दैनिक दुई÷तीनवटा बिक्री हुँदा गुजारा चल्छ ।”

सानो आकारको जाल, मुखौरी रु दुई सय ५० र ठूलो आकारको रु पाँच सयमा बिक्री हुने गर्छ । प्लास्टिकबाट निर्मित यस्ता घरायसी सामग्री टिकाउ हुने भएकाले किसानले रुचाउने गरेका छन् । रामस्वरुपका दुई छोरा छन् । उनकी श्रीमती ५४ वर्षकै उमेरमा बिते । कोरोना महामारीपछि यो व्यापारमा लागेको उनी बताउछन् । “काम नगरी खान पुग्दैन । डोरीको व्यापारले जीवन धानिएको छ,” उनले भने, “बुढेसकालमा काम गर्ने रहर त थिएन तर बाध्यता त्यस्तै आइलाग्यो ।”-रासस 

ADVADV

सम्बन्धित खबर

Advertise