पथरी : लेटाङमा जारी प्रथम अन्तरपालिका नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । मंगलबारको खेलमा लेटाङ नगरपालिकाले केराबारी गाँउपालिकालाई ३–० गोल अन्तरले पराजित गरेसँगै सेमिफाइनल समीकरण पूरा भएको हो ।
फाइनल प्रवेशका लागि बुधबार पथरी शनिश्चरे र सुन्दरहरैंचा तथा बिहीबार लेटाङ र कानेपोखरीबीच प्रतिस्पर्धा हुनेछ ।
नेपाली राष्ट्रिय टोलीका सदस्य अभिषेक लिम्बूसहित मैदान प्रवेश गरेको लेटाङले रवाफिलो प्रदर्शन गर्यो । मंगलबारको खेलमा लेटाङका लागि सौगात राई, सन्दीप मगर र अनिस श्रेष्ठले गोल गरे ।
पहिलो हाफमा २–० गोलको अग्रता बनाएको लेटाङले दोस्रो हाफमा थप गोल गर्दै ३–० को अग्रता बनायो । राईले खेलको ७औं र मगरले १५औं मिनेटमा गोल गरे भने इन्जुरी टाइममा श्रेष्ठले गोल गरे । खेलको म्यान अफ दि म्याच लेटाङका गोलकिपर भरत मगर घोषित भए ।