२०८१ पुष २० गते शनिवार / Jan 04 , 2025 , Saturday
२०८१ पुष २० गते शनिवार
Ads

पुस १९ र २० गते दोस्रो बागमती प्रदेशस्तरीय खुला लिग तेक्वान्दो प्रतियोगिता हुने

ADV
मध्यान्ह
२०८१ पुष १७ गते २२:०६
पुस १९ र २० गते दोस्रो बागमती प्रदेशस्तरीय खुला लिग तेक्वान्दो प्रतियोगिता हुने

कविता लामिछाने (न्यौपाने)

काठमाडौं : यही पुस १९ र २० गते दोस्रो बागमती प्रदेशस्तरीय खुला लिग तेक्वान्दो प्रतियोगिता हुने भएको छ । प्रतियोगिता टोखा वडा नं. ५ श्री समाज परिसरमा हुनेछ । टोखा नगरपालिकाको आयोजनामा हुने दोस्रो र्‍याङकिङ खेलको प्राविधिक सहयोग तथा समन्वयमा नेपाल तेक्वान्दो संघ बागमती प्रदेश र जिल्ला समन्वय समिति काठमाडौं रहेको छ । 

आज टोखा नगरपालिकाको सभा हलमा गरिएको पत्रकार भेटघाटमा खेलबारे जानकारी दिइएको थियो । पत्रकार सम्मेलनमा जिल्ला समन्वय समिति काठमाडौंका प्रमुख सन्तोष बुढाथोकी र उपप्रमुख शान्ति पाण्डे, तेक्वान्दो संघका बागमती प्रदेश अध्यक्ष केशव पुरीसहित भाष्कर श्रेष्ठ लगायतका पदाधिकारीहरु र टोखा नगर प्रमुख प्रकाश अधिकारी, उपप्रमुख मुरारी तामाङ, प्रमुख प्रशासकिय अधिकृत शेरबहादुर बिसी, खेलकुद संयोजक नरोतम राना लगायतको सहभागिता रहेको थियो । 

पत्रकार सम्मेलनमा खेलबारे नेपाल तेक्वान्दो संघ बागमती प्रदेशका अध्यक्ष केशव पुरीले प्रेस विज्ञप्ति वाचन गरेका थिए । पत्रकार सम्मेलनमा पुरीले भने, 'जिल्ला समन्वय समितिको समन्वयमा यसपटकदेखि तेक्वान्दो खेल र्‍याङकिङ अन्तर्गत खेल सुरु हुन लागेको हो । यसपटकको खेलमा पुरुष समुह र महिलातर्फ पाँच समुह गरी ५–५ समुह भाग दिनेछन् । पुरुषतर्फ ४६–५०, ५०–५४, ५४–५८, ५८–६३ र ६३–६८ केजी तौल समुहले खेलमा सहभागी हुनेछन् । त्यस्तै महिलातर्फ ४०–४३, ४३–४६, ४६–४९, ४९–५३ र ५३–५७ केजी तौल समुहमा प्रतिस्पर्धा गर्नेछन् ।'

खेलमा सहभागी भई पहिलो वरीयतामा पदक प्राप्त गरेका खेलाडीहरुको बसोबासको व्यवस्था कलंकीस्थित होटेलहरुमा गरिएको पत्रकार सम्मेलनमा सम्झौता गर्दै जानकारी गराइएको थियो । सम्झौता पत्रमा टोखा नगरपालिका खेलकुद संयोजक नरोतम राना र कलंकी होटेल तथा गेस्ट हाउसको तर्फबाट सम्झौता पत्रमा हस्ताक्षर भएको छ । 

लिगमा पहिलो हुने खेलाडीले १० अंक, दोस्रोले ७ अंक र तेस्रो हुनेले ३ अंक पाउने छन् । हरेक लिगका प्रत्येक तौल समूहका पदक विजेता खेलाडीहरुलाई अर्को लिगमा खान, बस्न र यातायातलगायतका खर्च पनि टोखा नगरपालिकाले नै व्यहोर्नेछ । 

समग्रमा लिगभरिको प्रदर्शनका आधारमा उत्कृष्ट हुने खेलाडीलाई आकर्षक पुरस्कार प्रदान गरिने छ । हरेक लिगका विजेतालाई पदक तथा प्रमाणपत्रको व्यवस्था गरिएको छ । 

तेक्वान्दो खेलको लोकप्रियता नेपालमा मात्रै नभइ अन्तर्राष्ट्रिय प्रतियोगितामा सबैभन्दा बढी पदक दिलाउन सफल खेल पनि हो । देशको यही लोकप्रिय खेलका खेलाडीको क्षमता अभिवृद्धि गरी अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट नतिजा ल्याउने उद्देश्यले बागमती प्रदेशस्तरीय खुला तेक्वान्दो लिग सञ्चालन गर्न लागिएको हो । 

वर्षमा चार पटक आयोजना हुने लिगबाट खेलाडीको वरीयता निर्धारण गरिनेछ । बागमती प्रदेश स्तरीय खुल्ला तेक्वान्दो लिग हरेक तीन–तीन महिनामा संचालन हुनेछ । जसमा ‘प्रथम बागमती प्रदेश स्तरीय खुला लिग तेक्वान्दो प्रतियोगिता–२०८१ गत भदौ १ गते र २ गते नागार्जुन नगरपालिकाको आयोजनामा नागार्जुन कबर्डहल, स्युचाटारमा सम्पन्न भएको थियो । दोस्रो बागमती प्रदेश स्तरीय खुला लिग तेक्वान्दो प्रतियोगिता–२०८१ यही १९ र २० गते टोखा नगरपालिकाको आयोजनामा हुन लागेको हो । तेस्रो लिगको कार्यक्रमको फागुनमा हुनेछ, जसमा बुढानिलकण्ठ नगरपालिका आयोजक रहेको छ । चौथो लिग तारकेश्वर नगरपालिकाको आयोजनामा आउँदो जेठमा हुने छ ।

ADVADV

सम्बन्धित खबर

Advertise