२०८१ पुष २४ गते बुधवार / Jan 08 , 2025 , Wednesday
२०८१ पुष २४ गते बुधवार
Ads

ईश्वर पोखरेलको संस्मरण ‘आमा, सपना र ताराहरु’ लोकार्पण 

ADV
मध्यान्ह
२०८१ पुष १९ गते १८:०६
ईश्वर पोखरेलको संस्मरण ‘आमा, सपना र ताराहरु’ लोकार्पण 

काठमाडौं : नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलद्वारा लिखित संस्मरण संग्रह ‘आमा, सपना र ताराहरू’ लोकार्पण भएको छ । शुक्रबार नेपाल प्रज्ञा प्रतिष्ठानमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, उपमहासचिव प्रदीप ज्ञवाली, नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालगायतले पुस्तक लोकार्पण गरेका हुन्  ।

लोकार्पण कार्यक्रममा बोल्दै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले तत्कालीन समयमा निरंकुश निरर्दलीय पञ्चायती शासकहरूले राजनीतिक दलमा लगाएको प्रतिबन्धलाई समाप्त पार्न कम्युनिष्ट पार्टीको कार्यकर्ताको रुपना पोखरेल स्थापित भएको औंल्याइन् ।

उनले प्रजातन्त्र ल्याउनका लागि पोखरेलले गरेको आन्दोलन र छोरा आन्दोलनमा होमिदा आमालाई भएको पीडालाई पुस्तकमा समावेश गरेको बताइन् । त्यस्ता पीडालाई लेखककी आमाले मात्र नभइ राजनीतिक परिवर्तन चाहने सबैकी आमाले सहेका कारण प्रजातन्त्र स्थापना भएको भण्डारीले बताइन् । साथै उनले सर्जकहरूले आफ्ना सिर्जनामार्फत देश र जनताको सेवामा थप कलम चलाउनु पर्नेमा जोड दिइन् ।

एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पुस्तकमा आमासँगका कुराहरू मात्र नसमेटिएर आमासँगै अघि बढेको एक सय वर्षको नेपाली समाजको अवस्था, जसमा पारिवारिक संगठन र विघटनको स्वरुप, जलवायु परिवर्तन र बसाइँ–सराइँले पारिरहेको प्रभाव, नेपालको एकीकरण र त्यसमा पूर्खाहरूले दिएको योगदानको विषय पनि समेटेको उल्लेख गरे । उनले भने, ‘अहिले अभ्यासमा रहेको राजनीति र लोकतन्त्र सित्तैमा आएको होइन । नेपाली समाज वर्तमान अवस्थामा आइपुग्न धेरै आमाहरू र ईश्वर पोखरेलजस्ता योद्धाको ठूलो संघर्ष र बलिदान छ ।’

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पुस्तकको समीक्षा गर्दै आमालाई विरङ्गनाको उपमा दिइएकोप्रति खुसी व्यक्त गरे । उनले एउटा आमाले सन्तानका लागि गर्ने दुःख र भोग्न सक्ने पीडाको कुनै सीमा नहुने बताए । 

कार्यक्रममा समालोचक उपप्राध्यापक डा.विन्दु शर्माले शब्द चयनमा समेत निकै सजगता र सचेतना अपनाइ नेपाली आमाहरूको त्याग, समर्पण र बलिदानीबारे इमान्दारीपूर्ण संस्मरणात्मक रूपमा प्रस्तुत गरिएको कृतिमा भावुक पार्ने क्षण र विषयवस्तु प्रशस्त रहेको धारणा राखिन् । 

कृतिका लेखक पोखरेलले आफ्नी आमालाई परिवर्तन र रुपान्तरणको पात्रका रूपमा प्रस्तुत गर्दै समाज परिवर्तनको आन्दोलनका सिलसिलामा नेपाली आमाहरूलाई कसरी र कुन ठाउँमा पाइयो भन्ने विषयवस्तु जस्ताको त्यस्तै उतार्न कोशिस गरेको बताए । 

कृतिमा पति र पुत्रवियोगमा, आर्थिक अभावमा पनि समाज र सन्तानलाई देश र जनताका पक्ष अटल रहन प्रेरणा दिएका घटना समेटिएका छन् ।

पुस्तकमा माइती र घरमा आमा, पीडादायी घरायसी अवस्था, बाबुको निधन र त्यसपछिका चुनौती, आमासित छुट्टिन पर्दा, विद्यार्थी जीवन र राजनीतिमा प्रवेश, मैले घर छोडेपछि आमाको अवस्था, भूमिगत अवस्थामा आमासित भेट, मलाई बचाउने औतारी लामा, आँखा दान गर्ने आमा र आमाको स्वभाव शीर्षकमा विभिन्न विषयवस्तु समावेश छन् । यसअघि पोखरेलले ‘पूर्वको रातो तारा’, ‘माघ १९’ लगायत कृति प्रकाशित भइसकेका छन् । 

ADVADV

सम्बन्धित खबर

Advertise