काठमाडौं : सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी तालिम सम्पन्न गरेको छ । पुस २० गते बर्दिबासमा आयोजित कार्यक्रममा बर्दिबास क्षेत्रका साथै हेटौँडा क्षेत्र लगायत नारायणगढ शाखाका अभिकर्ता एवम त्यहाँको सम्पूर्ण कर्मचारीहरू र केहि विभागीय प्रमुखहरू समेतको सहभागितामा सो तालिम कार्यक्रम सञ्चालन गरिएको थियो ।
तालिम कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले प्रस्तुत गरेका थिए । उक्त तालिममा गैर कानुनी कमाई र आतंककारी कार्यबाट संकलित कालो धनलाई बीमाको माध्यमबाट सेतो धन बनाउने कार्यलाई कसरी नियन्त्रण गर्न सकिन्छ, यसका प्रकृयाहरू के के हुन, रिपोर्टिङ कसरी गर्ने आदि विषयमा विस्तृत जानकारी दिइएको थियो । उनले यसको महत्व र प्रभावका साथै यसलाई कार्यन्वयन गर्न हरेक कर्मचारीले गर्नुपर्ने कामको बारेमा जानकारी समेत दिएका थिए ।
गत साल झैँ यस २०८१ सालामा पनि कम्पनीले देशभरी विभिन्न ठाउँमा सम्पत्ति शुद्धीकरण सम्बन्धी यस तालिमको आयोजना गर्दै आएकोमा यो सातौँ र अन्तिम स्थान हो । यस भन्दा पहिले मंसिर २७ गते पुर्वको इटहरी, इनरुवा र बिर्तामोड क्षेत्रका कर्मचारी र अभिकर्ताहरूका लागी इटहरीमा, मंसिर २२ गते पश्चिमको धनगढी, नेपालगन्ज, सुर्खेत क्षेत्रको लागी कोहलपुरमा, बुटवल, जीतपुर र भैरहवा क्षेत्रको लागी मङ्सिर १ गते बुटवलमा, पोखरा र बाग्लुङ क्षेत्रको लागी कार्तिक १० गते पोखरमा र असोज साथै मंसिर ६ गते दुइ पटक काठमाडौंमा यस तालिम सम्पन्न गरिएको थियो ।