काठमाडौं : ग्लोकल आफ्टर स्कूल, ग्लोकल प्रालि अन्तर्गतको संस्था, युवाहरूलाई २१औं शताब्दीका अत्यावश्यक सीप प्रदान गर्न समर्पित स्कील वीकको छैठौँ संस्करण सुरु भएको छ । जनवरी ६ देखि जनवरी १३, २०२५ सम्म सञ्चालन हुने यो सप्ताहव्यापी कार्यक्रमले शैक्षिक क्षेत्र र उद्योगबीचको दुरी घटाउँदै विभिन्न कार्यशाला, प्रतियोगिता, र नेटवर्किङका अवसरमार्फत् रोजगार क्षमता अभिवृद्धि गर्ने लक्ष्य राखेको छ ।
स्कील फेस्टमा कार्यशालादेखि उद्योग–शैक्षिक अन्तरक्रियाको बैठक र स्कील वीक २०२५ मा विविध कार्यक्रमहरू हुने छन् । पहिलेका संस्करणहरूको सफलतामा आधारित, स्कील वीक २०२५ ले विज्ञान र प्रविधि, कला र संस्कृति, पर्यटन र आतिथ्य सेवा, र उद्यमशीलता नामक चार प्रमुख स्तम्भमा केन्द्रित हुने भएको छ । जनवरी १०, २०२५ मा अत्यन्त प्रतिक्षित एवम् उत्साहजनक स्कील फेस्ट कार्यक्रम इम्बार्क कलेज, पुल्चोक, ललितपुरमा आयोजना हुने छ ।
‘स्कील फेस्ट–सीपको महोत्सव’ कार्यक्रम सीप सिकाइको निःशुल्क प्लेटफर्म युवाहरूका लागि सिप परीक्षण र अन्वेषण गर्ने अवधारणालाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुने गरेको छ । यो कार्यक्रम युवाहरूका लागि खुला प्लेटफर्म हो, जहाँ उनीहरूले विभिन्न सीप, तिनको महत्त्व र बजारको सम्भावनाका बारेमा जान्न र सिक्न सक्छन् । स्किल फेस्टमा आकर्षक कार्यशाला, सीप प्रदर्शनी, प्रतियोगिता, रोचक खेलहरू, केस स्टडी प्रस्तुतिहरू, स्वादिष्ट खानाका परिकार, संगीत र सीपमा आधारित मनोरञ्जन कार्यक्रम तथा रोजगारी मेला हुनेछ ।
कार्यक्रमको समापन समारोहमा स्किल हिरो अवार्डस् प्रदान गरिने, जसले कला र संस्कृति, पर्यटन र आतिथ्य सेवा, विज्ञान र प्रविधि र उद्यमशीलता क्षेत्रमा असाधारण योगदान दिने व्यक्तिहरूलाई सम्मान गर्ने जनाइएको छ । सीएनआई र नेपाल चेम्बर अफ कमर्सस नेपाल पर्यटन बोर्ड, यस कार्यक्रमका युरोपियन युनियन, भारतीय दूतावास, र अस्ट्रेलियन दूतावास रणनीतिक साझेदार हुन् ।
होन्डा, कोका–कोला, डब्लुडब्लुएफ नेपाल, सीजी मोटर्स कार्यक्रमका साझेदार, यूएनडीपी र यूके स्किल्स पार्टनरशिप प्राविधिक सहयोगी, द सोल्टी काठमाडौं होटल पार्टनर, वर्ल्डलिंक इन्टरनेट पार्टनर, कान्तिपुर र द काठमाडौं पोस्ट मिडिया पार्टनर, यति एयरलाइन्स एयरलाइन्स पार्टनर, र एनएनक्यू आउटरीच पार्टनर रहेका छन् ।