अर्घाखाँची : राष्ट्रिय जनमोर्चाका केन्द्रीय महासचिव मनोज भट्टले कांग्रेस–एमाले गठबन्धन सरकारका कारण देश टाट पल्टिनेतर्फ उन्मुख भएको आरोप लगाएका छन् । राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले सन्धिखर्कमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव भट्टले मुलुकमा संघीयता लागू भएपछि नेपालमा गठबन्धन गर्ने सरकार चलाउने आसेपासे भर्ती गर्ने र देशको ढुकुटी स्वाहा पार्ने खेलमा अहिलेसम्म बनेका सरकार लागि परेकाले देश टाट पल्टिने अवस्थामा पुगेको बताए ।
‘देश बनाउन धेरै समय लाग्छ तर विगार्न समय लाग्दैन’ भट्टले भने, ‘केवल संघीयता सुरु भएको ७ वर्ष हँुदैछ, अहिले नेताहरुको खेलो गठबन्धन गर्ने सरकार टिकाउने मात्रै छ, देश ठूला दलले विगारे, ध्वस्त पारे । आज राजनीतिक अस्थिरता छ देशमा छ । अनुशासनहिनता छ, अराजकता छ । आर्थिक रुपमा देश टाट पल्टिने अवस्थातिर जाँदैछ ।’
उनले देश अहिले रेमिट्यान्सको भरमा चलिरहेको बताए । महासचिव भट्टले नेपालको एयरपोर्ट र भन्सारबाट अहिले तस्करी मात्रै हुने गरेको आरोप लगाए । देशमा ‘अहिले डकैती भइरहेको छ,’ उनले भने, ‘एयरपोर्टबाट क्वीन्टलका क्वीन्टल सुन तस्करी हुने गरेको छ । नेपालमा संघीयता फाल्नुको विकल्प नभएको भन्दै महासचिव भट्टले संघीयता हटाएको दिन देशको आधा समस्या समाधान हुने जिकिर गरे ।
संघीयता फाल्नु प्रदेशहरुको खारेजी नै अबको पहिलो विकल्प रहेको उनले बताए । व्यवस्था बचाइराख्न पनि संघीयता फाल्नुपर्ने उनको तर्क थियो । ‘राजा सक्रिय हुँदै गएका छन्’,भट्टले भने,‘संघीयता नफाले व्यवस्था पनि बचाउन सकिन्न ।’
उनले कांग्रेस, एमाले, माओवादी जस्ता दलहरु र ती दलका एजेण्डा कमजोर हुँदा राजा बलियो हुँदै गएको बताए । ठूला दलहरु नसच्चिए प्रतिगमनको खतरा बढेको राष्ट्रिय जनमोर्चाको ठहर छ ।
गणतन्त्रको विकल्प राजतन्त्र नभएको भन्दै उनले प्रतिगमनतर्फ जानु मुर्खता हुने भन्दै राजतन्त्रलाई विकल्पमा उभ्याउन नसकिने बताए ।
अहिलेका दल र सरकार कमजोर हुँदा जनमत बहकिएको उनले बताए । पुराना दलहरुबाट असन्तुष्ट नागरिकले राजतन्त्रनै उत्तम थियो भन्ने भाष्य निर्माण गर्दा राजा सक्रिय भएको उनको भनाइ ।
संविधान संशोधनको एजेण्डासहित दुई ठूला दलहरु मिलेर सरकार गठन भएकाले आफुहरुले संघीयता हटाउन दबाब दिने उनले बताए । दबाब स्वरुप आगामी चैत्र २४ गतेदेखि ३० गतेसम्म राजधानी काठमाडौंमा सप्ताहव्यापी ‘संघीयताविरुद्धको राजधानी केन्द्रित आन्दोलन’ गर्ने उनले बताए ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष थम्मन केसीले २०८१ चैत्र २४ गतेदेखि हुने राजधानी केन्द्रित आन्दोलनको तयारी स्वरुप अर्घाखाँचीका ६ स्थानीय पालिकामा संघर्ष समिति गठन गरिसकिएको र उक्त समितिहरुले आ–आफ्ना पालिकामा राजधानी केन्द्रित आन्दोलनको लागि जनशक्ति तयार गर्ने, संगठन निर्माण, आर्थिक संकलन, भेटघाट, प्रचार–प्रसार गर्ने जिम्मेवारी दिइएको जानकारी दिए ।