जनकपुरः मधेश प्रदेश सरकारले शहीद परिवारहरूको स्वास्थ्य सेवामा सुधार ल्याउने उद्देश्यले स्वास्थ्य बीमा कार्यक्रमको सुरुवात गरेको छ । प्रदेश सरकारका गृह, सञ्चार तथा कानुन मन्त्री राज कुमार लेखीले पुस ९ गतेबाट उक्त बीमा कार्यक्रम लागू भएको जानकारी बुधबार पत्रकार सम्मेलनमार्फत दिएका हुन् ।
मन्त्री लेखीले स्वास्थ्य बीमा कार्यक्रमले प्रदेशका शहीद परिवारका सदस्यलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने जानकारी दिए । उनले यस स्वास्थ्य बीमा कार्यक्रमले शहीद परिवारहरूलाई स्वास्थ्य समस्यामा सहयोग पुर्याउने विश्वास व्यक्त गरे । कार्यक्रमले शहीद परिवारलाई मेडिकल उपचारमा आर्थिक भारबाट मुक्त गर्ने लक्ष्य राखेको छ । मधेस प्रदेश सरकारले जम्मा १०८१ जनासहित परिवारका प्रत्येक परिवारका पाँचजना सदस्यको बीमा गर्न लागेको हो ।
पत्रकार सम्मेलनमा मन्त्री लेखीले गृहमन्त्रीको नेतृत्वमा स्थानीय सेवा र संरचनासम्बन्धी कानुनी संशोधनका लागि कार्यदल गठन गरिएको जानकारी पनि दिए । यस कार्यदलले स्थानीय तहहरूको संरचनामा सुधारका लागि मस्यौदा तयार पार्ने कार्यमा समर्पित हुनेछ । मन्त्री लेखीले भने, ‘भोलि बिहीबारसम्म कार्यदलले तयार पारेको मस्यौदा प्रदेश सरकारलाई बुझाइनेछ ।’