२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

लस एन्जलस डढेलो : ५ जनाको मृत्यु, १ हजार ५०० भन्दा बढी घरमा क्षति 

Nada
२०८१ पुष २५ गते १३:२५
Shares
लस एन्जलस डढेलो : ५ जनाको मृत्यु, १ हजार ५०० भन्दा बढी घरमा क्षति 

संयुक्त राज्य अमेरिका : अमेरिकाको लस एन्जलस वरपर फैलिएको डढेलोमा परी कम्तीमा पाँच जनाको मृत्यु भएको अधिकारीहरूले बुधबार बताएका छन् ।

ncell

डढेलो सहरमा प्रवेश गरेपछि घरहरूमा भएको आगलागीका कारण कम्तीमा एक हजार ५०० भन्दा बढी भवन जलेर नष्ट भएका छन् भने एक लाखभन्दा बढी मानिस आफ्नो घरबाट विस्थापित भएका छन् ।

लस एन्जलस काउन्टीका अग्नि नियन्त्रक एन्थोनी मारोनले आफू मातहतका कर्मचारीहरू विपत्तिको परिमाण र गतिसँग जुधिरहेको बताएका छन् । 

उनले भने, “हामीले सक्दो प्रयास गरिरहेका छौं तर हामीसँग लस एन्जेलसका सबै विभागहरूमा यसलाई ह्यान्डल गर्न पर्याप्त अग्नि नियन्त्रकहरू छैनन् ।”

पासाडेनाका अग्नि नियन्त्रक चाड अगस्टिनका अनुसार आगलागीका कारण ५०० भन्दा बढी भवन नष्ट भएका छन् । उनले आगलागी नियन्त्रणका लागि जुटेका अग्नि नियन्त्रकको प्रशंसा गर्दै आगलागी भीषण रहेको र नियन्त्रणमा ल्याउन निकै कठिनाइ भएको उनले बताए । 

अगस्टिनले पत्रकारहरूसँग भने, “उनीहरूको वीरतापूर्ण कार्यबिना आज आगलागीका कारण मृत्यु हुनेको सङ्ख्या उल्लेखनीय रूपमा बढी हुने थियो।”

लस एन्जलस डिपार्टमेन्ट अफ वाटर एन्ड पावरका प्रमुख कार्यकारी जेनिस क्विनोनेसले प्यासिफिक पालिसडेसमा पानीका श्रोत (हाइड्रेन्ट) सुकेपछि पानीको जथाभावी प्रयोग नगर्न र जोगाएर नियन्त्रण गर्न आग्रह गरेका छन् । 

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार आफ्नो सामाजिक सञ्जालमार्फत पानीको अभाव राज्यको वातावरणीय नीतिका कारण भएको दाबी गरेका छन् । 

वास्तवमा, लस एन्जलसको अधिकांश पानी कोलोराडो नदीबाट आउँछ, र आवासीय प्रयोग वा फायर फाइटिंगको अलावा यसलाई खेतीमा सिँचाईका लागि प्रयोग गरिन्छ 

अमेरिकी राष्ट्रपति जो बाइडेनले डढेलो नियन्त्रणका लागि केन्द्रीय स्रोत र साधनसमेतको व्यवस्थापनमा ध्यान केन्द्रित गरिने बताएका छन्। उनले यसै साता इटालीको लागि तय भएको आफ्नो भ्रमण रद्द गरेका छन् । बाइडेनले भने, “हामी डढेलो नियन्त्रण गर्न जति सक्दो प्रयास गरिरहेका छौं ।”-रासस 

सम्बन्धित खबर