२०८१ माघ ९ गते बुधवार / Jan 22 , 2025 , Wednesday
२०८१ माघ ९ गते बुधवार
Ads

पाहुना चराले सर्लाहीका तालतलैया भरिभराउ

hardik ivf
घनश्याम बलम्पाकी
२०८१ माघ ९ गते १३:२०
पाहुना चराले सर्लाहीका तालतलैया भरिभराउ

सर्लाही : जाडो बढेसँगै सर्लाहीका ताल तलैयामा पाहुना चरा आउने क्रम बढेको छ । जिल्लाको बागमती खोला, बागमती नगरपालिका–१२ मा रहेको माछा पोखरी (भरत ताल), हरिपुरको मल्हनिया पोखरी, लालबन्दीको परवानीपुर लगायत विभिन्न ठाउँमा रहेका तालतलैयामा पाहुना चराको संख्या निकै बढेको हो ।

तराई र मधेशका चारकोसे झाडीमा जाडो छल्न साइबेरिया, चीन, बर्मा, मंगोलिया, रुस, कोरिया, थाइल्यान्डलगायत विभिन्न देशबाट पाहुना चरा आउने गरेको डिभिजन वन कार्यालय सर्लाहीका प्रमुख सन्तोष झाले जानकारी दिए । उनका अनुसार कात्तिक महिनामा आएका पाहुना चरा चैतसम्म बसेर पुरानो थलो फर्किने गरेका छन् ।

कात्तिक महिना लागेसँगै पाहुना चरा जाडो छल्न, बच्चा कोरल्न र आहारको खोजीमा यहाँ आउँछन् । चैत महिनामा आउने पाहुना चरा पनि गर्मी छल्न र बच्चा कोरल्न आइपुग्छन् । बच्चा उड्न सक्ने भएपछि उनीहरू उतै फर्किन्छन् । चरालाई बच्चा हुर्काउन यहाँको मौसम र वातावरण अरु देशको भन्दा उपयुक्त रहेकाले पनि धेरै चराहरू आउने गर्छन् । यहाँ आएका धेरै चराले सिमसार क्षेत्रलाई बासस्थान बनाउँछन्, त्यसमध्ये केहीले झाडी वा जंगलमा बस्न रुचाउनले प्रमुख झा बताउँछन् ।

तराई–मधेशमा ४ सयको संख्यामा रैथाने चरा बस्ने र समय अनुसार लगभग १५० प्रजातिका चरा रुस, कीर्गिस्तान, तुर्किस्तान, उज्बेकिस्तान, अजरबैजान, चीन, मंगोलिया, युरोप, कोरिया र तिब्बत क्षेत्रबाट आउने गर्छन् । यी चरा चैत महिनाको अन्तिम सातासम्म यहाँ बस्छन् र त्यसपछि आफ्नै बासस्थान फर्कन्छन् । यस वर्ष चारकोसे झाडीमा नयाँ प्रजातिका चरा थपिएको र यहाँका ताल पोखरीमा सेतो र कालो हाँसको झुण्ड देखिएको स्थानीयहरू बताउँछन् ।

बाहिरबाट आएका पाहुना चरा र स्थानीय रैथाने चराबीचको चालचलन निकै फरक हुने सामुदायिक वन उपभोक्ता महासंघ सर्लाहीका अध्यक्ष सीताराम पोखरेलले बताए । “यहाँको रैथाने चरा कालिज, मयुर, तामेढुकुर, सानो कुर्लेढुकुर, वनकुखुरा, निलकण्ठ, हलेसो हो, यी अलि चलाख खालका हुन्छन् । पाहुना चरा शान्त स्वभावका र सिमसार क्षेत्रमा बस्न रुचाउँछन् । पाहुना चरा बथानमा देखिन्छ भने यहाँका रैथाने सानो समूहमा बस्न रुचाउँछन् । पहिलेको तुलनामा रैथाने चरा निकै घटेको छ । वन डढेलो, अतिक्रमण र मानवीय गतिविधिका कारण चरा घटेका हुन् । यहाँ कुन प्रजातिका चरा कति छन्, अहिलेसम्म गणना गरिएको छैन,” पोखरेलले भने ।

जलवायु परिवर्तनका कारण पनि चराहरूलाई अनुकूल वातावरण मिल्न नसकेको र यसले उनीहरूको बासस्थानलाई प्रतिकूल बनाएको विज्ञहरूको भनाइ छ । तराईका जिल्लामा मात्र पाइने धनेस प्रजातिका चरा संकटको अवस्थामा पुगेको विज्ञहरू बताउँछन् ।

ADVADV

सम्बन्धित खबर

Advertise