काठमाडौं : नेपालले आईसीसी यु-१९ महिला विश्वकपअन्तर्गत चौथो स्थानको प्लेअफमा मलेसियालाई पराजित गरेको छ । शुक्रबार सम्पन्न खेलमा नेपालले मलेसियालाई ७ विकेटले पराजित गरेको हो ।
मलेसियाले दिएको ४६ रनको लक्ष्य नेपालले ११ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्यो । नेपालका ओनपरद्वय सना प्रवीन १ रन र सावित्री धामी ३ रनमा आउट भएका थिए ।
कप्तान पूजा महतोले नटआउट २३ रन जोडिन् । उनले ३२ बलमा ४ चौका प्रहार गरिन् । ज्योत्स्निका मरासिनी ७ रनमा आउट हुँदा सीमाना केसीले नटआउट ४ रन बनाइन् ।
मलेसियाका लागि मार्स्या अब्दुल्लाहले ३ विकेट लिइन् । ४ ओभर बलिङ गरेकी उनले १८ रन खर्चिइन् ।
त्यसअघि जोहोर क्रिकेट एकेडेमी ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले १६.५ ओभरमा सबै विकेट गुमाउँदै ४५ रन बनाएको थियो ।
मलेसियाका लागि नुरीमनले सबैभन्दा बढी १५ रन जोड्दा अरु ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
नेपालका लागि कप्तान पूजा महतोले ४ विकेट लिइन् । उनले ३.५ ओभरमा ९ रन मात्र दिइन् । रचना चौधरीले ३ विकेट लिँदा रिया शर्मा र सीमाना केसीले १-१ विकेट लिए ।
यु-१९ महिला टी–२० विश्वकपमा नेपालको यो पहिलो जित हो । मलेसिया भने जितविहीन रह्यो । दुवै टोली प्रतियोगिताबाट बाहिरिइसकेका छन् । समूह चरणमा नेपालले बंगलादेश, स्कटल्यान्ड र अस्ट्रेलियासँग हार व्यहोरेको थियो ।