२०८१ माघ १२ गते शनिवार / Jan 25 , 2025 , Saturday
२०८१ माघ १२ गते शनिवार
Ads

लुम्बिनी प्रदेशलाई खेलकुद हबको रुपमा विकास गर्छौं : मन्त्री राणा

hardik ivf
मध्यान्ह
२०८१ माघ ११ गते २०:०२
लुम्बिनी प्रदेशलाई खेलकुद हबको रुपमा विकास गर्छौं : मन्त्री राणा

प्यूठान : प्यूठानको गौमुखी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद, सबैका लागि खेलकुद’ भन्ने नाराका साथ गाउँपालिकाले स्थानीय विधालयस्तरीय अन्तरविद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु गरेको हो । 

प्रतियोगिताको लुम्बिनी प्रदेश सरकारका शहरी विकास खानेपानीमन्त्री सरोज थापा (रोज) राणाले  उद्घाटन गरेका हुन् । उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री राणाले खेल र खेलाडीको क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर लुम्बिनी प्रदेश सरकारले महत्त्वपूर्ण ऐन, नियम, कानुनहरु तयार गरिरहेको बताए । खेल अनुशासित र सभ्य ढंगले सम्पादित हुने क्षेत्र भएको भन्दै मन्त्री राणाले यहाँबाट उत्पादित खेलाडीले विश्वमा हरेक इतिहास रच्न सक्ने भएकाले खेल क्षेत्रको विकासका लागि तीनै तहका सरकार योजनाबद्ध हिसाबले अगाडि बढ्नुपर्ने बताए ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष विष्णु गिरीले नगरस्तरीय खेलमा देखिएको उत्साहले तत्कालीन समयमा सञ्चालन हुने वीरेन्द्र शिल्डको झल्को आउने गरेको बताए । खेलकुद क्षेत्रको विकास गर्न भौतिक संरचना निर्माणका लागि बजेट विनियोजन गरिएको जानकारी दिए ।

उद्घाटन समारोहमा विद्यार्थीले मार्चपास गरेका थिए । प्रतियोगितामा गाउँपालिकाभित्रका सबै वडाका विद्यालयहरूले भाग लिएका छन् । विद्यालयस्तरीय खेलकुद प्रतियोगिताअन्तर्गत एथलेटिक्स, भलिबललगायतका १२ विधाका २४ स्वर्णका लागि प्रतिस्पर्धा हुने छ । प्रतियोगिताका विजेताहरूलाई सम्मानपत्र, ट्रफी र अन्य पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा पालिका भित्रका ७ विद्यालयका करिब १ सय ५० विद्यार्थीले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिता आगामी तीन दिनसम्म सञ्चालन हुनेछ । यस कार्यक्रमलाई खेलकुदमा स्थानीय प्रतिभाहरूको पहिचान र उनीहरूलाई प्रोत्साहन गर्ने उत्कृष्ट अवसरका रूपमा हेरिएको गाउँपालिका अध्यक्ष विष्णु गिरीले बताए ।

ADVADV

सम्बन्धित खबर

Advertise