२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

कविता : अपरिवर्तित सत्य !

shivam cement
२०८१ माघ १२ गते ०६:०५
Shares
कविता : अपरिवर्तित सत्य !

–गणेश लोहनी

म जन्मेको भूखण्ड बदलियो
दौँतरी खड्ग प्रचण्ड बदलियो
विध्वंशले यो ब्रह्माण्ड बदलियो
काम बदलियो नाम बदलियो
हेर्दाहेर्दै राम बदलियो 
सप्तरङ्गी घोडा नारिएका
रथमा सवार सुमेरु परिक्रमा गर्ने
सूर्यको गति बदलियो
खुकुरी लिएर तोपलाई मार हान्ने
गोर्खालीको बहादुरी बदलियो 
नबदलिएको के छ ?
म अपरिवर्तित सत्य !

शुक्र र डिम्ब
मिलनपछिको भ्रुण
नवजात शिशु
बालक, किशोर, तन्नेरी, वयस्क, प्रौढ 
बृद्ध अवस्था अनुसारका
नाम विशेषण
विद्यार्थी, गोठालो, खेतालो
भरिया, डकर्मी, पूजारी
कर्म अनुसारका
नाम विशेषण
बदलिइरहे
बोली, बानी, व्यवहार, सोच
सबै बदलिए
कायमै रह्यो म, राम्रो म
अपरिवर्तित सत्य !

आदर्श बदलियो
अभियान बदलियो
विचार अनि अभिमान बदलियो
नीति बदलियो, रीति बदलियो
अगुवाहरूको प्रवृत्ति बदलियो
आस्था आहाल बस्यो
इमान इनारमा डुब्यो
तृष्णा तिखारियो
लालच लठारियो
माटो बिर्स्यो, बाटो बिर्स्यो
घर बिर्स्यो, दरबार पस्यो
भौतिक स्वरूप, भावभाग्य
सबै सबै बदलिए
बदलिएन त केवल
पुरन्जनभित्रको शून्यदेखि
शून्यसम्मको साक्षी
‘म’
अपरिवर्तित सत्य !!

सम्बन्धित खबर