२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

विवादमा तानिए स्वस्तिमा, साम्राज्ञी र ओसिन, बोल्यो कलाकार संघ

ADV
मध्यान्ह
२०८१ असार १२ गते १८:१७
विवादमा तानिए स्वस्तिमा, साम्राज्ञी र ओसिन, बोल्यो कलाकार संघ

काठमाडौं : एक टेलिभिजन कार्यक्रम ‘इट्स माइ शो’को विवादित प्रस्तुतिलाई लिएर यतिबेला अभिनेत्रीद्वय स्वस्तिमा खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाह तथा प्रस्तोता ओसिन सिटौलाको चौतर्फी आलोचना भइरहेको छ ।

कार्यक्रमको नियमित प्रस्तोता सुरज सिंह ठकुरीले कार्यक्रम छाडेपछि अहिले ओसिन सिटौला कार्यक्रमको नयाँ प्रस्तोता भएर आएकी छन् । तर ओसिनले चलाएको पहिलो एपिसोडबाट नै कार्यक्रम विवादमा तानिएको छ ।

स्वस्तिमा र साम्राज्ञीले उक्त शोमा कलाकारहरूको व्यक्तिगत जीवनलाई छताछुल्ल पारिदिएका थिए । प्रस्तोता ओसिनले सोधेको प्रेमी–प्रेमिकाको प्रश्नको स्वस्तिमा र साम्राज्ञीले एक पटक पनि नसोची फ्याट–फ्याट नाम लिएका थिए । उनीहरूले नायिकाले अनमोलसँग डेट गरेको महिलाको नामहरूमा आना शर्मा, अश्मी श्रेष्ठ र जसिता गुरुङ को नाम लिएका थिए भने जसिताले डेट गरेको प्रेमीको नाममा धिरज मगर, प्रदीप खड्का र अनमोल केसीको नाम लिएका थिए ।

आफ्नो व्यक्तिगत जीवनलाई राष्ट्रिय टेलिभिजनबाट छताछुल्ल पारिदिएपछि जसिताले आपत्ति जनाएकी थिइन् । जसिताले आपत्ति जनाए लगत्तै यो विषय झनै विवादित बन्यो । चौतर्फी आलोचना र विरोध हुन थालेपछि साम्राज्ञी र स्वस्तिमा दुवैले इन्स्टाग्रामबाट माफी मागे ।

स्वस्तिमा र साम्राज्ञीको उक्त विवादित अभिव्यक्तिलाई लिएर पूर्वमिस नेपाल अश्मी श्रेष्ठले पनि आपत्ति जनाएकी छिन् । उनले ‘इट्स नट यर शो’ भन्दै टक शोमा आफूबारे लक्षित टिप्पणीलाई अस्वीकार गरेकी छन् । स्वस्तिमाले अश्मी श्रेष्ठको नाम अनमोल केसीको गर्लफ्रेन्डको रूपमा लिएकी थिइन् ।

यसबाहेक थुप्रै कलाकार तथा दर्शकहरुले अन्तर्वार्तालाई लिएर आपत्ति जनाइरहँदा चलचित्र कलाकार संघ पनि बोल्न बाध्य भएको छ । संघले बुधबार एक विज्ञप्ति जारी गर्दै टिभी कार्यक्रममा स्वस्तिमा र साम्राज्ञीले दिएको अभिव्यक्तिलाई अमर्यादित, अशोभनीय र गैर जिम्मेवारीपूर्ण भनेको छ ।

संघका अध्यक्ष मोहन निरौलाले एक विज्ञप्ति जारी गर्दै संघले विवादित कार्यक्रमप्रति ध्यानाकर्षण व्यक्त गरेका हुन् । विज्ञप्तिमा भनिएको छ, ‘हालै एक टेलिभिजनको कार्यक्रमको प्रस्तुति र त्यस कार्यक्रममा सहभागी कलाकारको अमर्यादित, अशोभनीय, गैरजिम्मेवारीपूर्ण अभिव्यक्तिप्रति नेपाल चलचित्र कलाकार संघको ध्यानाकार्षण भएको छ । उक्त कार्यक्रममा सहभागी कलाकारको अभिव्यक्तिले नेपाली चलचित्र क्षेत्र, कलाकारिता पेशा, वर्ग र सामाजिक दायित्वमा आघात पुगेको हाम्रो ठहर छ । आफ्नो स्वतन्त्रता र अधिकारको प्रयोग गर्दा अरुको मानमर्दन गर्नु हुँदैन भन्ने सामान्य मान्यतालाई पनि उक्त अभिव्यक्तिले लत्याएको छ । एउटा सार्वजनिक कार्यक्रममार्फत अरुको अपहेलना गर्नु, मानमर्दन गर्नु न्यायसगत ठहर्दैन र हुँदैन पनि ।’

‘यसभन्दाअघि पनि केही कलाकारहरूले सामाजिक मर्यादा विपरित अनुशासनविपरीत आचार संहिता पालन नगरी अभिव्यक्ति दिनु भएकोमा संघको ध्यानाकार्षण भई सचेत पनि गराएका थियौं । प्रस्तुत सन्दर्भमा पनि सम्बन्धित कलाकारलाई सचेत गराउँदै भविष्यमा पेशा, वर्ग र चलचित्र क्षेत्रलाई असर गर्ने कुनै पनि कृयाकलाप र अभिव्यक्ति नदिन हामी यही बक्तव्यमार्फत अनुरोध गर्दछौं,’ संघले भनेको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise