२०८१ माघ १४ गते सोमवार / Jan 27 , 2025 , Monday
२०८१ माघ १४ गते सोमवार
Ads

सच्चिनुपर्छ सरकार

hardik ivf
२०८१ माघ १४ गते ०६:२०
सच्चिनुपर्छ सरकार

ताप्लेजुङको पाथिभरा क्षेत्रमा केवुलकार सञ्चालन गर्ने निर्णयको विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाएपछि यो विवाद थप चर्कने देखिएको छ । ‘नो केवलकार’ अभियानमा सामेल प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाउँदा तीन जना घाइते भएका छन् । घाइतेहरुको थप उपचार गराउन काठमाडौं ल्याइएको छ । घाइतेहरू भन्दा पहिले नै यो सूचना काठमाडौं आइसकेको थियो । अहिले संसारभर रहेका नेपाली र नेपाली भाषी समक्ष यो मतभेदको सूचना प्रवाह भइसकेको छ । कोशी प्रदेश सभामा सांसदहरूले आन्दोलनकारीमाथि गोली चलाइएकोप्रति चर्को आपत्ति जनाएका छन् । सांसदहरुले दोषीमाथि कार्बाहीको माग राखेका मात्र छैनन्, केवलकार सञ्चालनको निर्णय फिर्ताको माग पनि राखेका छन् ।  

केवलकार सञ्चालनको निर्णय फिर्ता गरिनुपर्ने पक्षमा विपक्षी दल नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका सांसदहरुले बोलेका हुन् । दलीय आवद्धताका कारण नबोलेपनि अरु जनजाति समुदायका सांसदहरुको साथ पनि आन्दोलनकारीकै पक्षमा रहेको बुझ्न सकिन्छ । किनकि ब्यापारिक प्रयोजनका निम्ति केवलकार सञ्चालनमा ल्याउने भनिएको क्षेत्र किराँतहरुको धार्मिक स्थल मुकुम्लुङ पनि हो । आफ्नो समुदायको धार्मिक क्षेत्रमा ब्यापारिक अतिक्रमण गरिन नहुने अडान सहित केवलकार निर्माणको विरोध भइरहेको छ । कुनै धार्मिक समुदायको भावनामा ठेस् पुग्नेगरी गरिने गतिविधिको विरोधमा उत्रदा प्राप्त हुने राजनीतिक लाभका कारण पनि अरु सांसदको साथ मिल्नु स्वभाविक हो । विपक्षी दलहरुले सरकारी निर्णयमा असहमति जनाउनु र प्रदर्शनलाई साथ दिनु पनि प्राकृतिक कुरा नै मान्न सकिन्छ । 

तर कुनै समुदाय विशेषले असहमति जनाइरहँदा बल प्रयोग गरिनु चाहिँ प्राकृतिक देखिदैन । अझ गोली चलाएर अगाडि बढाउनुपर्ने परियोजना सफल हुँदैन । खुवालुङ (सप्तकोशी नदीको बीचमा रहेको ढुंगा, जसलाई किराँतहरुले पुजा गर्छन्) प्रकरणमा राज्य असफल हुनु भर्खरैको उदाहरण हो । पानी जहाज चलाउन भनेर खुवालुङ फुटाउने घोषणा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए । तर राई समुदाय सहित स्थानीयको चर्को विरोधपछि त्यो परियोजना अगाडि बढ्न सकेन । खुवालुङकै जस्तो परियोजना सरकारले मुकुम्लुङमा अगाडि सारेको छ । सरकारी निर्णयको विरोधमा उत्रिएकाहरुमाथि गोली पनि चलाइएको छ । जबकि सरकारले सम्बन्धित समुदायसँग वार्तामा बस्ने र सहमतिमा मध्य मार्गी निर्णय लिन आवश्यक छ । तर त्यसबिपरीत सरकार देखिनु दुःखद् हो, सरकारले आफूलाई सच्याउनुपर्छ ।

ADVenergy

सम्बन्धित खबर

Advertise