क्वालालम्पुर: मलेसियाका लागि नेपालका राजदूत डा. नेत्रप्रसाद तिमिल्सिनाले क्वालालम्पुरस्थित राजप्रासादमा आज आयोजित विशेष समारोहमा मलेसियाका राजा सुल्तान इब्राहिमसमक्ष आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् ।
ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेपछि भएको शिष्टाचार भेटमा राजदूत तिमिल्सिनाले राष्ट्रपति रामचन्द्र पौडेलका तर्फबाट राजा इब्राहिमको सुस्वास्थ्य एवं दीर्घायुका साथै मलेसियाका जनताको उत्तरोत्तर प्रगतिको कामना गरेको हुन् । उनले मलेसियासँग नेपाल र नेपालीको बहुआयामिक सम्बन्ध रहेको र यसलाई थप सुदृढ गर्दै दुई देशको सहयोगात्मक सम्बन्धलाई नयाँ उचाइमा लैजान सदैव प्रयास गर्ने प्रतिवद्धता पनि जनाए ।
त्यस अवसरमा मलेसियाका विदेशमन्त्री दातोसिरी उतामा हाजी मोहम्मद बिन हाजी हसन, विदेश मन्त्रालयका उच्चअधिकारीका साथै नेपाली राजदूतावासका पदाधिकारीको उपस्थिति थियो । राजदूत तिमिल्सिनासहित अन्य राष्ट्रका पाँच जना राजदूतले पनि सोही समारोहमा आ–आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गरेका थिए ।