२०८१ माघ १७ गते बिहिवार / Jan 30 , 2025 , Thursday
२०८१ माघ १७ गते बिहिवार
Ads

रङ्गशाला तयार, तर राष्ट्रिय खेलकुद प्रतियोगिता अनिश्चित

hardik ivf
कुलेन्द्र शाही
२०८१ माघ १६ गते ०६:३०
रङ्गशाला तयार, तर राष्ट्रिय खेलकुद प्रतियोगिता अनिश्चित

सुर्खेत : कर्णाली प्रदेश गौरवको आयोजनाका रूपमा रहेको निर्माणाधीन प्रदेश रङ्गशालाको काम अन्तिम चरणमा छ । कर्णाली प्रदेशमा आयोजना गर्ने गरी मिति तोकिएको १०औं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गरेर सुर्खेतमा बनाउन सुरु गरिएको रङ्गशालाको काम अन्तिम चरणमा पुगेको हो । 
९ बिघा क्षेत्रफल ओगटेको यो रङ्गशालाको काम ९९ प्रतिशत सम्पन्न भइसकेको छ । रङ्गशाला निर्माणका लागि १ अर्ब ५० करोड ४७ लाख ४७ हजार रुपैयाँमासम्झौता भएको थियो । 

कर्णाली प्रदेश खेलकुद परिषद्का निवर्तमान सदस्य सचिव विश्वामित्र सञ्जालले रङ्गशाला निर्माणको काम अन्तिम चरणमा रहेको बताए । उनले रङ्गशालाभित्र १६ वटा राष्ट्रिय खेल खेलाउन सकिने र फुटबल मैदानमा हुने खेल १० हजार जनाले अवलोकन गर्न सक्ने गरी संरचना बनाइएको बताए । जसमध्ये भीभीआइपी र भीआइपी पारापिटतर्फ मात्र ४ हजार दर्शक बसेर खेल्न हेर्न मिल्ने गरी संरचना निर्माण गरिएको छ । 

के के छ रङ्गशालामा ?

रङ्गशाला निर्माणको काम अन्तिम चरणमा रहेको र अब यसलाई अन्तिम रूप दिन मात्र बाँकी छ । यहाँ पौडीका लागि स्विमिङ पुल बनिसकेको छ । बास्केट बल, भलिबल लगायतका खेलका लागि आउटडोर र इनडोर कोर्ट बन(ाइएको छ । आउटडोर कोर्ट निर्माण भइसकेका छन् भने इनडोर कभर्ड हलको काम पनि अन्तिम चरणमा पुगेको छ । कभर्ड हलभित्र हुने खेल मात्र कम्तीमा १ हजार ५ सय दर्शकभित्रै बसेर हेर्न मिल्ने गरी कभर्ड हलको संरचना निर्माण गरिएको छ । 

यस्तै बक्सिङ, तेक्वान्दो, उस्सु, कराँते, ब्याडमिन्टन लगायतका खेल खेल्न मिल्ने गरी एकै पटक संरचना निर्माण गरिएका छन् । यी संरचनामध्ये कतिपय बनिसकेका छन्, कतिपय भने अन्तिम चरणमा छन् । भीआइपी र भीभीआइपीका लागि छुट्टै पारापिट र अन्डरग्राउन्ड पार्किङको संरचना निर्माण गरिएको छ । यस्तै रंगरोगन, सरसफाइ, लाइनिङ जस्ता काम मात्र बाँकी रहेको निवर्तमान सदस्य सचिव सञ्जालले बताए । यस्तै खुला पार्किङ, व्यावसायिक सटर निर्माण, परिसरमा हरियाली बनाउने काम पनि सकिसकेको छ । 

अनिश्चित राष्ट्रिय खेलकुद

यसअघि तोकिएको मिति २ मंसि मा हुने भनिएको १० औं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तिममा आएर स्थगित भयो । उक्त समयमा स्थगित हुन नसकेपछि २३ चैतका लागि नयाँ मिति ताकियो । तर, २३ चैतदेखि पनि प्रतियोगिता हुने नहुने केही टुङ्गो छैन । यही बेला कर्णाली प्रदेश खेलकुद विकास परिषद् समेत सदस्य सचिवविहीन छ । त्यसले गर्दा पनि तोकिएकै समयमा प्रतियोगिता हुने सम्भावना कमै छ । 

यसअघि तोकिएको समयमा प्रतियोगिता हुन नसकेको हुँदा यस पटक पनि प्रतियोगिता हुने सम्भावना कमै देखिएको हो । २३ चैत आउन अब ६९ दिन मात्रै बाँकी छ । निवर्तमान सदस्य सचिव सञ्जालले प्रतियोगिताको समय घट्दै गएको र आयोजकबाट कुनै पनि आधिकारिक धारणा हालसम्म पनि नआएको हुँदा प्रतियोगिता अन्योलमा भएको बताए । ‘प्रतियोगिता हुने भए त अहिलेसम्म विभिन्न सामाग्री खरिद लगायतका लागि टेण्डरको सूचना खुलाउनुपर्ने हो त्यो केही गरिएकै छैन । सूचना खुलाएपछि कम्तीमा पनि ६५ दिन लाग्छ तर २३ चैत आउन ६८ दिन मात्रै बाँकी छ कसरी होला र खै !’ 

उनले भने, ‘रातारात प्रक्रिया सुरु गरे पनि समय पुग्दैन कि कानुन विपरीत गर्नुप¥यो । नत्र भने समय नहुँदै यो चमत्कार त के देखिएला र !’ 

अपनत्व लिने होडबाजी 

प्रतियोगिता हुने नहुने टुङ्गो छैन । तर, कर्णालीमा रङ्गशाला निर्माणको जस लिने होडबाजी नै चलेको छ । प्रदेशका राजनीतिक दलहरूबिच अन्तिम चरणमा रहेको रङ्गशाला निर्माणको जस लिन तछाडमछाड चलेको छ । तत्कालीन मुख्यमन्त्री माओवादी केन्द्रका महेन्द्रबहादुर शाही नेतृत्वको सरकारले प्रदेश गौरवको योजना अनुसार कर्णाली प्रदेश रङ्गशाला बनाउने भन्दै विस्तृत अध्ययन प्रतिवेदन तयार गरेको थियो भने त्यसका लागि बजेट विनियोजनसमेत गरेको थियो । 

त्यसपछि मुख्यमन्त्री बनेका नेपाली कांग्रेसका जीवनबहादुर शाहीले रङ्गशालाको शिलान्यास गरे । मुख्यमन्त्री हुँदा र नहुँदा पनि निरन्तर अनुगमन गरिरहे । शाहीपछि मुख्यमन्त्री बनेका माओवादी नेता राजकुमार शर्माले पनि अनुगमन गर्थे तर हाल मुख्यमन्त्रीको रूपमा एमाले नेता यामलाल कँडेल छन् । तर, यो रङ्गशाला निर्माण सम्पन्न हुन एक प्रतिशत मात्र बाँकी रहँदा काग्रेस, एमाले र माओवादीबिच रङ्गशाला निर्माणको जस लिने होडबाजी चल्न थालेको छ । 

पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाही रङ्गशाला निर्माणको जस लिन खोजिरहेका छन् भने शर्मा पनि उही लाइनमै छन् । त्यति बेला प्रमुख प्रतिपक्षी दलका नेता रहेका हालका मुख्यमन्त्री कँडेलले आफूले प्रतिपक्षमा बसेर सहयोग नगरेको भए रङ्गशाला निर्माण हुन नसक्ने बताउने गरेका छन् । 

ADVenergy

सम्बन्धित खबर

Advertise