निकै ढिलोगरी संघीय संसदको विधान अधिवेशन शुरू हुँदैछ । गत ३१ भदौमा बजेट अधिवेशन अन्त्य गरेको सरकारले चर्को आलोचनापछि मात्र संसद अधिवेशन बोलाइयो । संसद अधिवेशन नराखे विशेष अधिवेशनको माग गर्ने विपक्षीहरुले चेतावनी नै दिनु परेको थियो । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रको नेतृत्वमा लगभग सबै विपक्षी एकसाथ प्रस्तुत भएर संसद अधिवेशन बोलाउन माग राखेका थिए । विपक्षी ८० सांसद एकठाउँ जुटेपछि बल्ल सरकारले १८ माघबाट संसद अधिवेशन बोलाउने निर्णय गर्यो । नत्र प्रधानमन्त्री केपी शर्मा ओली संसद अधिवेशन नबोलाएर अध्यादेशबाट सरकार चलाउने मूडमा देखिन्थे । २६ पुसमा उनले ५ वटा अध्यादेश ल्याएर राष्ट्रपतिबाट जारी गराए । यदि संसदलाई प्रभावकारी बनाउने र जनताप्रति उत्तरदायी सरकार सञ्चालन गर्ने हो भने यो सही बाटो थिएन ।
हिउँदे अधिवेशन बेलैमा बोलाएर विधेयकहरू संसदमा लगिने थियो । विपक्षीहरुलाई सहमत गराएर फटाफट कानुन बनाउँदा अध्यादेशको आवश्यकता पर्ने थिएन । तर सरकारले त्यो बाटो रोजेनन् । संसद छलेर अध्यादेशबाट चल्न नीति अख्तियार गरियो । सरकारले लिएको यस्तो उल्टो बाटोकै कारण ढिलोगरी बस्न लागेको संसद बैठक पनि सहज नहुने संकेत प्रष्ट भइसकेको छ । विपक्षी दलहरूले एकस्वरमा अध्यादेशप्रति विमति जनाउने निर्णय गरिसकेका छन् । त्यसको प्रतिवादमा उत्रने सत्ता साझेदार दलहरूबाट पनि निर्णय भएको छ । त्यसैले संसद बैठकहरूमा आरोप–प्रत्यारोप र शक्ति प्रदर्शन देखिन सक्ने अनुमान गर्न सकिन्छ ।
जबकि सत्तारुढ नेताहरुकै निष्कर्ष अनुसार पनि नागरिकमा उत्पन्न निराशा घटाउन संसदले जनताका पक्षमा नियमित कामहरू गर्नुपर्ने हो । संविधान कार्यान्वयन गर्न आवश्यक कानुनहरू फटाफट बनाउनुपर्ने हो । तर संविधान नै संशोधन गर्ने तयारीमा सत्तारुढ हुँदा अहिलेपनि संविधान कार्यान्वयन गर्न चाहिने कानुनहरू बन्नै बाँकी छ । प्रदेशहरूले प्रहरी पाउने सकेका छैनन्, निजामति कर्मचारी सम्बन्धी कानुन बन्न सकेको छैन । अरू थुप्रै कानुन बन्न बाँकी छ । तर राजनीतिक शक्ति संघर्षका कारण संसद अधिवेशन बोलाउनु नै ठूलो युद्ध जित्नु जस्तो बनिरहेको छ । असाध्यै थोरै समय संसद चल्ने र त्यो बैठक पनि भनाभनमै टुंगिने प्रवृत्तिले निरन्तरता पाउँदै आएको छ । तसर्थ यसपटकको अधिवेशनलाई सकेसम्म बढी प्रभावकारी बनाउनेतर्फ नेतृत्वको ध्यान जान जरूरी छ । त्यो भनेको जनताका एजेण्डा बढी भन्दा बढी उठ्नुपर्छ भने फटाफट कानुनहरू बन्ने बातावरण सिर्जना गरिनुपर्छ ।