काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मोन्टी देशाईको सम्झौता नवीकरण नगर्ने निर्णय गरेको छ । क्यानले उनीसँग भएको दुई वर्षको सम्झौता सकिएसँगै सम्झौता नवीकरण नगर्ने निर्णय गरेको हो । भारतीय क्रिकेटर देसाईलाई क्यानले २०७९ को माघ २३ मा नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक नियुक्त गरेको थियो ।
क्यानका प्रवक्ता छुम्बी लामाले मुख्य प्रशिक्षक मोन्टीसँगको सम्झौताको दुई वर्ष समाप्त भएको र क्यानले उनीसँगको सम्झौता नवीकरण नगर्ने निर्णय गरेको जानकारी दिए । क्यानले सामाजिक सञ्जालमार्फत शनिबार मोन्टी देसाईले नेपाली क्रिकेटमा पुर्याएको योगदानप्रति धन्यवाद ज्ञापन गरेको छ ।
देसाईले नेपाली क्रिकेटमा पु¥याएको योगदानको स्मरण गर्दै क्यानले शनिबार उनको प्रशंसा गरेको छ । क्यानले आफ्नो आधिकारिक फेसबुक पेजमा मोन्टीले ल्याएको ह्याप्पी ड्रेसिङ रुम अवधारणा र नेपाली क्रिकेटले प्राप्त गरेको सफलताका लागि उनलाई धन्यावाद दिएको छ ।
नयाँ प्रशिक्षक नियुक्तिको प्रक्रिया यथाशीघ्र थालिने प्रवक्ता लामाले जानकारी दिए । उनले तत्काल नेपाली राष्ट्रिय पुरुष टिमले कुनै खेलमा सहभागिता जनाउने तय नभएकाले पनि नयाँ प्रशिक्षक नियुक्ति प्रक्रिया अगाडि बढाउन समय रहेको बताए ।
देसाईले पछिल्लोपटक ब्याटिङ क्लिनिकमा आफ्नो सेवा दिएका थिए । यही माघको दोस्रो साता मूलपानी क्रिकेट मैदानमा युवा क्रिकेटरका लागि क्यानले आयोजना गरेको ब्याटिङ क्लिनिकमा देसाईले युवा क्रिकेटरलाई प्रशिक्षण दिएका थिए ।
उनी प्रमुख प्रशिक्षक भएर आउँदा नेपाली टिम आईसीसी विश्वकप लिग २ मा खराब अवस्थाबाट गुज्रिरहेको थियो । देसाईकै प्रशिक्षणमा नेपालले सो लिगका पछिल्ला १२ मध्ये ११ खेलमा जित निकाल्दै विश्वकप ग्लोबल छनोटमा स्थान बनाएको थियो भने एक दिवसीय मान्यता पनि जोगाएको थियो ।
उनकै कार्यकालमा नेपालले पहिलो पटक एसिया कप समेत खेलेको थियो । मोन्टीकै प्रशिक्षणमा नेपालले दोस्रो पटक टी–२० विश्वकपसमेत खेलेको थियो ।