ललितपुर : आइकेओ क्युकोशिनकाई कराते डोजो नखिपोटका ४८ जना जुनियर खेलाडीको बेल्ट टेस्ट सम्पन्न भएको छ । नखिपोटमा संचालित आइकेओ क्युकोशिनकाई कराते डोजोका ४८ जना जुनियर खेलाडीहरूको बेल्ट टेस्ट शनिबार सम्पन्न भएको डोजोका प्रमुख प्रशिक्षक सेन्सेई समीर श्रेष्ठले जानकारी दिए । शुक्रबार र शनिवार भएको बेल्ट टेस्टमा प्रमुख प्रशिक्षक श्रेष्ठ, प्रशिक्षक सेन्सेई उत्तम स्थापित र सहायक प्रशिक्षक अमित घलान लामाले खेलाडीहरूको परीक्षा लिएका थिए ।
‘बेल्ट टेस्टमा सहभागीहरूमध्ये ५ जनाले ग्रीन बेल्ट, १२ जनाले एल्लो, १४ जनाले ब्लु, २१ जनाले अरेन्ज र ७ जनाले ह्वाइट बेल्टको परीक्षा सम्पन्न गरेका छन्,’ प्रमुख प्रशिक्षक श्रेष्ठले भने ।
आइकेओ क्योकुशिनकाई नेपालका ब्रान्च चिफ शिहान दिपक लामाले बेल्ट टेस्टबाट खेलाडीहरूको क्षमताको पहिचान हुनुका साथै उनीहरूमा खेल क्षमताको अभिवृद्धि हुने बताए । ‘बेल्ट टेस्टबाट खेलाडीहरूको क्षमताको पहिचान हुन्छ । प्रतिस्पर्धा गर्न सक्ने खुबी वृद्धि हुँदै जान्छ । उनीहरूले पाउने बेल्टको महत्व र बेल्टअनुसारको क्षमताको जानकारी हुन्छ,’ लामाले भने ।
अत्यन्तै कडा मिहिनेत र अनुसाशनमा राखेर प्रशिक्षित हुन सफल भएका खेलाडीहरूको मात्रै बेल्ट परीक्षा लिएर स्तरोन्नति गरिएको प्रमुख प्रशिक्षक श्रेष्ठले बताए । ‘६० दिन हाजिर भएको योग्य खेलाडीहरूलाई मात्रै बेल्ट टेष्टमा सहभागी गराएका छौं, लिखित परीक्षा, बेसिक (किहोन) मापदण्डहरूको परीक्षण, स्टेपिङ, काता, कुमिते परीक्षमा पूरा गरेकाहरू बेल्ट टेस्टमा सहभागी गराउँछौं । ६० दिन हाजिर भएर पनि राम्रोसँग खेल्न नसकेकाहरूलाई बेल्ट टेस्टमा सहभागी गराइएको छैन । कडा मिहिनेत र परिश्रम बिना स्तरोन्नतिमा समावेश गराएका छैनौं,’ श्रेष्ठले भने ।
प्रत्येक ३ देखि ४ महिनाभित्र बेल्ट टेस्ट हुने डोजोका प्रमुख प्रशिक्षक श्रेष्ठले जानकारी गराए । २ दिनसम्म चलेको बेल्ट टेस्टमा खेलाडीहरूले पूर्ण अनुशासनमा रहेर खेलका सबै नियमहरू पालना गरेर बेल्ट परीक्षा उत्तीर्ण गरेका हुन् ।
स्वीडेनको होन्बुको इन्टरनेशनल कराते अर्गनाइजेशन क्योकुशिनकाईसँग आबद्ध इन्टरनेशनल कराते अर्गनाइजेशन क्योकुशिनकाई नेपालको माताहातमा रहेको आइकेओ क्युकोशिनकाई कराते डोजोले हरेक वर्ष वार्षिक कार्यक्रमहरू तय गर्दै आएको छ ।
डोजोमा प्रशिक्षणमा रहने खेलाडीहरूको खेल प्रतिभा प्रदर्शन गर्ने वातावरण मिलाउँदै आएको डोजोका प्रशिक्षक स्थापितले जानकारी दिए । यस डोजोमा आबद्ध खेलाडीहरूलाई अरु संघसंस्थाले आयोजना गरेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्दै खेलाडीहरूको ज्ञान, सीप र दक्षता वृद्धि गर्न डोजो सक्रिय रहेको उनको भनाइ छ ।