काठमाडौं : वर्तमान नेपालको संविधान, २०७२ अनुसार देशमा ३ तहका सरकार छन् । स्थानीय तहअन्तर्गत रहेका वडा अध्यक्षहरू जनताको नजिकका सरकारका प्रतिनिधि हुन्, जसले खास सरकारको प्रतिनिधिका रूपमा काम गरिरहेका छन् ।
प्रधानमन्त्रीभन्दा मुख्यमन्त्री, मुख्यमन्त्रीभन्दा स्थानीय तहका प्रमुख र स्थानीय तहका प्रमुखभन्दा वडा अध्यक्षलाई जनताले विश्वास गरेको अध्ययनले नै देखाएको छ । अर्थात्, वर्तमान शासन व्यवस्थामा वडा अध्यक्षप्रति जनताको विश्वास ज्यादा रहेको देखाउँछ ।
सेयरकास्ट इनिसियटिभले गत १६ मंसिरदेखि २७ पुससम्म देशभरका ३ हजार मानिसका बीचमा अध्ययन गरेको थियो । नेपालको वर्तमान सामाजिक, आर्थिक र राजनीतिक पक्षमा देशव्यापी गरिएको उक्त सर्वेक्षणले प्रधानमन्त्रीभन्दा मुख्यमन्त्री, मुख्यमन्त्रीभन्दा स्थानीय तहका प्रमुख र स्थानीय तहका प्रमुखभन्दा वडा अध्यक्षलाई जनताले विश्वास गरेको अध्ययनले नै देखाएको हो ।
स्थानीय तहले दिने सेवा सुविधाबारे नागरिक वडा कार्यालय पुग्न सक्छन् वा अन्य माध्यमबाट समेत वडा तहबाट पाउने सेवाबारे जानकारी लिन सक्छन् । जानकारी पाएको सेवा उपलब्ध गराउन वडा अध्यक्षहरू बाध्य हुन्छन् ।
स्थानीय तहमा समयमा सेवा पाइयो कि पाइएन भन्ने प्रश्नमा समयमै सेवा पाएको भन्ने उत्तरदाताको संख्या ६७ दशमलव २ प्रतिशत रहेको सेयरकास्ट इनिसियटिभले देखाएको छ । यस्तोमा वडा अध्यक्षको भूमिका महत्त्वपूर्ण छ ।
वडा अध्यक्षले गरेको काम, बोलिचाली, व्यवहार मनपराउने संख्यासमेत ७१ द्यशमलव ७ प्रतिशत रहेको अध्ययनले देखाएको छ । अर्थात्, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा वडा अध्यक्षप्रति जनविश्वास बढ्दो रहेको अध्ययनले नै देखाएको छ ।
संविधान र कानुनअनुसार वडा समितिका सदस्यहरूको काममा समन्वय र सहजीकरण गर्ने वडा अध्यक्षको हो । वडाको विकास योजना, बजेट तथा कार्यक्रम तयार गर्ने र गर्न लगाउने तथा स्वीकृतिका लागि गाउँपालिका वा नगरपालिकामा पेस गर्ने जिम्मेवारी वडा अध्यक्षलाई दिइएको छ ।
वडाबाट कार्यान्वयन हुने योजना तथा कार्यक्रम कार्यान्वयन गर्ने÷गराउने र त्यसको अनुगमन तथा आवधिक समीक्षा गर्ने र प्रगतिबारे जनतालाई जानकारी गराउने दायित्व वडा अध्यक्षहरूको छ, जो प्राप्त अधिकारअनुसार भूमिका निर्वाह गर्छन र आवश्यक पर्दा जनताको साथ लिएर डेलिगेसन लिएरसमेत माथिल्लो तहमा पुग्छन् ।
जनताको चाहनाअनुसार योजना बनाउने, विकास निर्माणको प्राथमिकीकरण गर्ने, बजेट माग्नेलगायतका काममा वडा अध्यक्षहरूको अब्बलताले जनविश्वास बढाएको हो ।