२०८१ माघ २१ गते सोमवार / Feb 03 , 2025 , Monday
२०८१ माघ २१ गते सोमवार
Ads

छपेली माझखण्ड केवलकारले दक्षिणी ललितपुरको पर्यटन प्रवर्द्धन गर्ने

hardik ivf
मध्यान्ह
२०८१ माघ २१ गते १८:२४
छपेली माझखण्ड केवलकारले दक्षिणी ललितपुरको पर्यटन प्रवर्द्धन गर्ने

ललितपुरः प्रतिनिधिसभा सदस्य उदयशम्शेर राणाले जिल्लाको पर्यटनलाई पाटनमा मात्र सीमित राख्न नहुने बताएका छन् । ललितपुरको दक्षिणी भेग पनि पर्यटनका दृष्टिले आकर्षक गन्तव्य हुनसक्ने उनले बताए ।

माझखण्ड पर्यटन परियोजना अन्तर्गत डेस्टिनेशन माझखण्ड प्रालिले सञ्चालनमा ल्याउन लागेको छपेली माझखण्ड केवलकार शिलान्यास कार्यक्रममा बोल्दै आज प्रतिनिधिसभा सदस्य राणाले उक्त योजनालाई बुद्धिमताकासाथ अगाडि बढाउन सुझाव दिए । उनले यसक्षेत्रको जनजीविका, रहनसहन, कृषि उद्योग र पशुपालन नै आकर्षणको केन्द्र बनाउन सकिने बताए ।

‘पर्यटनमा यहाँको सम्भावना प्रवल छ, सबै राजनीतिक दल, जनप्रतिनिधि प्रतिबद्धता भएर व्यावसायिक रुपमा बजारीकरण गर्नुपर्छ’, उनले भने । उनले अर्को वर्षसम्म कान्ति लोकपथ पूर्णरूपमा सञ्चालनमा आउने बताउँदै यहाँका सात वटा पहिरोको जोखिम न्यूनिकरण गर्न जाइकालगायतको सक्रियतामा सर्भे भइरहेको जानकारी दिए ।

बागमती प्रदेशसभा सदस्य मधुसूदन पौडेलले पर्यटन प्रवर्द्धनका लागि सुरु गरिएको उक्त योजनाको पूर्ण सफलताको कामना गरे । नेकपा (माओवादी) केन्द्रका केन्द्रीय सदस्य एवम् ललितपुर इन्चार्ज हरि दाहालले काम गर्न खोज्दा धेरै दुख र अल्झनहरु आउन सक्ने बताउँदै ललितपुरको रमणीय ठाउँको मुहार फेर्नमा महत्त्वपूर्ण काम हुने विश्वास व्यक्त गरे ।

डेस्टिनेशन माझखण्ड प्रालिका अध्यक्ष गोपाल सञ्जेलले पर्यटन क्षेत्रको विकास र विस्तारका लागि गाउँपालिकासँग समन्वय गरेर काम गर्ने बताए । बागमती गाउँपालिकाको वडा नम्बर ३ बाट वडा नम्बर ५ माझखण्ड जोड्ने केवलकारको दुरी दुई दशमलव आठ किलोमिटर रहने छ । कम्पनीका अनुसार एक अर्ब २० करोड लगानीमा केवलकारका साथै होटल, फनपार्कलगायत सञ्चालन हुने जनाइएको छ । आगामी एक बर्ष छ महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्य कम्पनीको छ ।

ADVenergy

सम्बन्धित खबर

Advertise