२०८१ माघ २२ गते मङ्गलवार / Feb 04 , 2025 , Tuesday
२०८१ माघ २२ गते मङ्गलवार
Ads

अमिन साहको निधनमा नगरप्रमुख जयसवालद्वारा दुःख व्यक्त

hardik ivf
मनोज साह
२०८१ माघ २१ गते २२:२६
अमिन साहको निधनमा नगरप्रमुख जयसवालद्वारा दुःख व्यक्त

रौतहट : रौतहट गरुडा नगरपालिकामा कार्यरत एक अमिनको करेन्ट लागेर मृत्यु भएको छ । गरुडा नगरपालिकाका २५ वर्षीय अमिन रामजी साहको ११ हजार भोल्टको तार छुँदा मृत्यु भएको हो ।

अमिन साह गरुडा नगरपालिका–१ जयनगरस्थित निर्माणाधीन एक सार्वजनिक भवनको नापी गर्न गएका थिए । सोही क्रममा उनले भवनको छतबाट मोबाइलबाट फोन गर्ने क्रममा छतबाट ३ फिटमाथि नजिकैको ११ हजार भोल्टको विद्युत् प्रसारण लाइन छुँदा उनलाई करेन्ट लागेको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । 

इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक ओम प्रकाश यादवका अनुसार करेन्ट लागेपछि गम्भीर घाइते भएका साहलाई तत्कालै गरुडास्थित एक स्वास्थ्य संस्थामा लगिएको थियो । 

तर, अवस्था गम्भीर भएपछि उनलाई थप उपचारका लागि वीरगन्जस्थित गण्डक अस्पतालमा लगिएको थियो । अस्पतालमा डाक्टरले उनलाई मृत घोषित गरेको प्रहरी निरीक्षक यादवले जानकारी दिए । 

यसैबीच गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमणी जयसवालले गरुडा नगरपालिकाले एक कुशल कर्मचारी गुमाएको प्रति दुःख व्यक्त गरेका छन् ।

गरुडा नगरपालिकाका कर्मठ, इमानदार र जिम्मेवार अमिन साहको असामयिक निधनले अत्यन्त स्तब्ध र मर्माहित भएको बताउँदै नगर प्रमुख साहले अहिले सम्पूर्ण गरुडा नगर परिवार गहिरो शोकमा डुबेको शोक सभामा धारणा राखेका थिए ।

स्व.साह केवल एक सक्षम कर्मचारी मात्र नभइ मिलनसार, सहयोगी र आफ्नो कर्तव्यप्रति समर्पित व्यक्ति भएको र उनको निधनले नगरपालिकाका लागि अपूरणीय क्षति भएको नगर प्रमुख जयसवालले बताए । 

सोमबार गरुडा नगरपालिकाको तर्फबाट शोक सभा आयोजना गरी श्रद्धाञ्जली अर्पण गरिएको थियो । साथै नगरपालिकामा एक दिने शोक बिदा दिइएको गरुडा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुस्ताक आलमले जानकारी दिए । 

प्रमुख प्रशासकीय अधिकृत आलमले नगरपालिकाले एउटा कुशल कर्मचारी गुमाएको बताए । 

नगरपालिकाले एउटा इमान्दार कर्मचारी गुमाएको बताउँदै आलमले मृतक साहको परिवारलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।

शोकसभामा  गरुडा नगरपालिकाका विभिन्न वडाहरुका वडाध्यक्षहरु, कार्यपालिकाका सदस्यहरु, नगरपालिकाका  विभिन्न शाखा प्रमुखहरु साथै कर्मचारीहरुको उपस्थिति  रहेको थियो ।

ADVenergy

सम्बन्धित खबर

Advertise