२०८२ वैशाख २६ गते शुक्रवार / May 09 , 2025 , Friday
२०८२ वैशाख २६ गते शुक्रवार
Ads

चर्चित नेपाली सेफ टंकद्वारा निर्मित वृत्तचित्र ‘टेस्ट अफ इटाली’ पोर्चुगलमा प्रदर्शन

भरत प्रधान
२०८१ माघ २२ गते १२:२५
चर्चित नेपाली सेफ टंकद्वारा निर्मित वृत्तचित्र ‘टेस्ट अफ इटाली’ पोर्चुगलमा प्रदर्शन

लिस्बन : इटालियन खानाका लागि युरोपमा प्रख्यात नेपाली सेफ टंक सापकोटाले निर्माण गरेको इटालियन खानासम्बन्धी वृत्तचित्र ‘टेस्ट अफ इटाली’ सार्वजनिक गरिएको छ ।

वृत्तचित्र पोर्चुगलको राष्ट्रिय टेलिभिजन टिभीआईमार्फत सार्वजनिक एवं प्रसारण गरिएको हो । सापकोटाले पोर्चुगलमा सञ्चालन गरेको इटालियन रेष्टुरेन्ट ‘कोमे प्रिमा’ को २५औं वार्षिकोत्सवको अवसर पारेर प्रसारण गरिएको वृत्तचित्रमा इटालियन खानाको परम्परा, खानपानको शैली, खानाको स्वाद, व्यञ्जन र परिकारलाई समेटिएको छ । पोर्चुगिज चलचित्र निर्देशक टियागो पी.डे. कार्भाल्होले निर्देशन गरेको उक्त वृत्तचित्र इटालीका विभिन्न स्थानमा छायांकन गरिएको छ । पोर्चुगिज र इटालियन भाषाको सम्मिश्रणमा निर्माण गरिएको वृत्तचित्रमा सापकोटा स्वयं प्रमुख पात्र र प्रस्तोताका रूपमा प्रस्तुत भएका छन् ।

वृत्तचित्रमा मूलतः इटालियन परम्परागत खानाका जड, इटालियन खानाका रहस्य, इटालियन पाककलाको स्वाद र खानपानको शैलीलाई पस्कने प्रयास गरिएको छ । वृत्तचित्रलाई एउटा नेपालीले युरोपमा रहेर तीन दशकदेखि विदेशी परिकार इटालियन खानाका पारखीहरूलाई उत्कृष्ट स्वाद पस्कँदै प्राप्त गरेको सफलताका रूपमा समेत लिइएको छ । साथै खानाका पारखीदेखि लिएर प्रख्यात इटालियन सेफहरू, पाककलासँग सम्बन्धित विभिन्न व्यक्तिहरू र ८३ वर्षीया इटालियन वृद्धा भान्सेसँग इटालियन पाककला, खानाका परिकार, स्वादिष्ट भोजन र व्यञ्जन तथा बहुमूल्य ट्रफलको खोजीलगायत विषयमा खोज, जानकारी, संवाद र साक्षात्कार गरिएको छ । 

इटालियन खानाका परिकार र विश्व बजारमा बहुमूल्य मानिने ह्वाइट ट्रफलको खोज अनुसन्धान र लिलामीलाई वृत्तचित्रमा प्रस्तुत गर्न खोजिएको छ । सेफ सापकोटाले इटालियन खानासम्बन्धी आर्जन गरेको ज्ञान, सीप, कला र कौशलातालाई समेत वृत्तचित्रमा चित्रण गरिएको छ । आइतबार पहिलो भाग प्रसारण भएको उक्त वृत्तचित्र शृंखलाबद्ध रूपमा ६ भाग प्रसारण हुनेछ । वृत्तचित्र इटालियन खानामा केन्द्रीत रहेको भएपनि त्यसको प्रमुख पात्र आफू नेपाली भएको नाताले वृत्तचित्र नेपाल र नेपालीको गौरव र प्रतिष्ठासँग जोडिएको सापकोटाले बताए । वृत्तचित्रलाई नेपाली भाषामा समेत अनुवाद गरेर नेपालमा प्रदर्शन गर्ने  योजना रहेको उनले बताए । 

करिब २८ वर्षदेखि सपरिवार पोर्चुगल बस्दै आएका बागलुङ, दमेकका सापकोटाको राजधानी लिस्बनमा तीन इटालियन र एक नेपाली गरी चार रेष्टुराँ सञ्चालनमा छन् । ट्रफल एम्बेस्डरसमेत रहेका सापकोटाले पाककलामा उत्कृष्टता प्रदर्शन गरेकै कारण दर्जनौं ‘अवार्ड’ तथा पुरस्कारसमेत प्राप्त गर्न सफल छन् । गत वर्ष उनको रेष्टुरेन्ट ‘र्फोनो दी ओरो’ ले युरोपकै उत्कृष्ट १२औं पिज्जेरिया र विश्वकै उत्कृष्ट १० नापोलितान पिज्जेरियामा पर्न सफल भई अन्तर्राष्ट्रिय अवार्ड समेत प्राप्त गरेको थियो ।  सापकोटाले सन् २०१८ मा इटालीबाट खरिद गरी ल्याएको विश्वकै ठूलो र दुर्लभ प्रजातिको बहूमूल्य च्याउ (ह्वाइट ट्रफल) पोर्चुगलमा सार्वजनिक गरेका थिए। सन् २०१६ मा उनी पोर्चुगलमा युवा सिर्जनशील व्यवसायी समेत घोषित भएका थिए ।

संयुक्त राष्ट्रसंघीय सांस्कृतिक निकाय (युनेस्को) ले इटालीको प्रख्यात ‘नापोलितान पिज्जा’ बनाउने कलालाई विश्वसम्पदा सूचीमा समावेश गरेको छ । जसमा सापकोटाले सञ्चालन गरेको रेष्टुराँ ‘र्फोनो दी ओरो’ उक्त सूचीमा सूचीकृतसमेत छ । जुन रेष्टुराँमा सुनको जलप लगाइएको चुल्होमा पिज्जा पकाउने गरिन्छ । यस्तै केही महिना अघि मात्रै सापकोटाले तालिमप्राप्त कुकुर, इटालियन ट्रफल सिकारीको सहयोग तथा इभोरा विश्वविद्यालयसँगको सहकार्यमा पोर्चुगलमा पहिलोपटक ब्ल्याक ट्रफल (जमिनमुनि पाइने कालो प्रजातिको ग्रीष्मकालीन च्याउ) फेला पार्न सफल भएका थिए । उनले फेला पारेको उक्त ब्ल्याक ट्रफल पोर्चुगलको इभोरा विश्वविद्यालय, कृषि विज्ञान संस्थान, राष्ट्रिय कृषि तथा पशु चिकित्सा अनुसन्धान संस्थानका अनुसन्धानकर्तासहितको वैज्ञानिकको टोलीले पुष्टि गरेको थियो ।

सापकोटाले कोरोना कहरमा कोरोनाका कारण रोजगारी गुमाएका तथा समस्यामा परेका राजधानी लिस्बनका १० हजार सूचीकृत न्यून आय भएकाहरुलाई ‘एकमहिने निःशुल्क खाना अभियान’ सञ्चालन गरेर निःशुल्क खानासमेत खुवाएका थिए ।

ADV

सम्बन्धित खबर