२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

वैदेशिक रोजगार व्यवसायी संघको आसन्न साधारण सभा : छाता संगठनप्रति उदासिनता कि गलत राजनीतिक प्रवृत्ति ?

ADV
मध्यान्ह
२०८१ असार १४ गते ०६:४५
वैदेशिक रोजगार व्यवसायी संघको आसन्न साधारण सभा : छाता संगठनप्रति उदासिनता कि गलत राजनीतिक प्रवृत्ति ?

काठमाडौं : नेपाल वैदेशिक रोजगार व्यवसायी संघको ३०औं वार्षिक साधारण सभाका लागि बिहीबारसम्म पौने तीन सय व्यवसायीले प्रतिनिधि पठाएका छन् । आगामी असार १७ गते हुने साधारण सभामा भाग लिन संघले दुई हप्ता अगाडिदेखि नै निरन्तर सार्वजनिक सूचना जारी गरेर तोकिएको वार्षिक सदस्यता शुल्कसहित प्रतिनिधि पठाउन आग्रह गरिरहेको छ ।

संघका सचिव कर्णराज कटुवालले संघको कार्यसमिति पदाधिकारी र सदस्यबाहेक बिहीबारसम्म पौने तीन सय प्रतिनिधि आएको भन्दै शुक्रबार साँझसम्म अन्य व्यवसायीले प्रतिनिधि पठाउने अपेक्षा गरिएको बताए । संघले प्रतिनिधि पठाउन तोकेको समयमा प्रतिनिधि नआएपछि  पटक–पटक समय लम्ब्याउने गरेको छ । तर पनि अपेक्षित संख्याका म्यानपावर कम्पनीले प्रतिनिधि पठाएको देखिएको छैन ।

वैदेशिक रोजगार विभागमा दर्ता रहेकामध्ये करिब एक हजार म्यानपावर कम्पनीले वैदेशिक रोजगारमा कामदार पठाइरहेका छन् । विभागमा दर्ता रहेकामध्ये ३७ वटा निष्क्रिय छन् भने एउटा निलम्बनमा परेको छ । जेठमा ७ सय ५४ म्यानपावर कम्पनीले वैदेशिक रोजगारमा कामदार पठाएका थिए । उनीहरू सबैजसो संघका सदस्य रहेका छन् । तर यस पटकको साधारण सभाका लागि कूल व्यवसायीमध्ये एकतिहाइ हाराहारीले मात्रै सदस्यता शुल्क बुझाएर प्रतिनिधि पठाउनुले छाता संस्थाप्रति व्यवसायी उदासीन बनेका त होइनन् ? भन्ने प्रश्न पनि उठेको छ ।

सबैजसो म्यानपावर कम्पनी काठमाडौं र ललितपुरमा रहेका छन् । उनीहरू आधा घण्टाको अवधिमा संघको सिनामंगलस्थित कार्यालयमा पुग्न सक्ने अवस्था छ । तर संघले  प्रतिनिधि पठाउन एक पटक नभइ पटक–पटक बिभिन्न माध्यमबाट सूचना जारी गर्दा पनि समयमा प्रतिनिधि नपठाउने प्रवृत्ति किन देखिएको छ ? कतिपयले यसलाई व्यवसायीमा मौलाएको गलत राजनीतिक सोच र अटेर गर्ने प्रवृत्ति भनि टिप्पणी गर्ने गरेका छन् ।

व्यवसायीका बीचमा समस्या पर्दा छातासंस्था संघलाई बलियो र प्रभावकारी बनाउने विषयमा  छलफल हुने गरेको छ । तर त्यसले निरन्तरता पाउन सकेको छैन । आफ्नै भवनको पटक–पटक कुरा उठेपनि संस्था स्थापनाको तीन दशक लामो अवधि व्यतित भइसक्दा पनि संघले आफ्नो भवन बनाउन सकेको छैन ।

व्यवसायीले मुलुकको अर्थतन्त्रमा रेमिट्यान्समार्फत एकतिहाइ हिस्सा र मुलुकको ५६ प्रतिशत घरधुरीमा रेमिट्यान्स पुर्‍याएको गर्वका साथ दाबी गर्ने गरेका छन् । तर समयमा संस्थाको शुल्क बुझाउने, प्रतिनिधि पठाउने र संस्थालाई आर्थिक र प्रशासनिकरूपमा बलियो बनाउने  विषयमा तदारुकता भने नदेखिएको केही युवा व्यवसायीको गुनासो छ ।

ADVADV

सम्बन्धित खबर

Advertise