२०८३ असोज १८ गते आइतवार / Oct 04 , 2026 , Sunday
२०८३ असोज १८ गते आइतवार

वैदेशिक रोजगार युवा व्यवसायी संघ गठन

Nada
२०८२ कार्तिक १८ गते ०६:२५
Shares
वैदेशिक रोजगार युवा व्यवसायी संघ गठन

काठमाडौं : नेपाल वैदेशिक रोजगार व्यवसायी संघ कार्यसमिति सदस्य सुमनराज पाण्डेको अध्यक्षतामा वैदेशिक रोजगार युवा व्यवसायी संघ गठन भएको छ । पाण्डे सेक्युर नेपाल जब प्लेसमेन्ट प्रालिका सञ्चालक हुन् । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको मर्मअनुसार वैदेशिक रोजगार क्षेत्रमा नयाँ मूल्यमान्यता स्थापित गर्न नयाँ संस्था गठन गरिएको उनले बताएका छन् । 

ncell

९ सदस्यीय संघको तदर्थ कार्यसमितिको प्रथम उपाध्यक्षमा हबिबी इन्टरनेसनल रिक्रुटमेन्ट प्रालिका सञ्चालक अभिनयमान सिंह बस्नेत, उपाध्यक्षमा हिमालयन भ्याली नेपाल प्रालिका सञ्चालक देवीप्रसाद गिरी, महासचिवमा इगल म्यानपावर कन्सल्टेन्ट्स प्रालिका सञ्चालक कृष्ण ढकाल, सचिवमा जेबिआर एसोसिएट प्रालिका अदनान सम्मद र कोषाध्यक्षमा क्विक एचआर म्यानेजमेन्ट प्रालिका सञ्चालिका दीपा बुढाथोकी रहेका छन् ।

सदस्यमा प्याराडाइज ह्युमन रिसोर्स प्रालिका सञ्चालक सरोज हुसेन, सिजी इन्टरनेसनल ग्रुप प्रालिका सञ्चालक ध्रुव जिसी र ड्रिमल्यान्ड रिक्रुटमेन्ट प्रालिका सञ्चालक फडिन्द्रकुमार केसी (प्रशान्त) रहेका छन् ।  

वैदेशिक रोजगार व्यवसायमा सक्रिय नयाँ पुस्ताका व्यवसायीहरूलाई एकीकृत गर्दै ‘युवाको नेतृत्वमा गर्व गर्न लायक आधुनिक व्यवसाय’ निर्माण गर्ने लक्ष्यका साथ नयाँ संघ गठन गरिएको संस्थाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

वैदेशिक रोजगार व्यवसाय नेपालको अर्थतन्त्र, रोजगारी र सामाजिक गतिशीलताको मुख्य स्तम्भ भएकाले यस क्षेत्रमा पारदर्शिता, प्रतिस्पर्धा र प्रविधिको प्रयोगद्वारा सुधार आवश्यक महसुस भएको भन्दै संघले वैदेशिक रोजगार क्षेत्रमा सक्रिय युवाहरूमाझ एकता र जिम्मेवारीको भावना जगाउँदै नैतिकता र व्यावसायिक इमानदारीको संस्कारको विकास गर्नु संघको मुख्य उद्देश्य रहेकोे बताएको छ । 

व्यवसायका सबै प्रक्रिया र अभ्यासलाई चुस्त, दुरुस्त र प्रविधिमैत्री बनाउँदै युवाहरूमाझ ‘एजेन्ट होइन, उद्यमी बन्ने संस्कार’ विकास गर्न प्रतिबद्ध रहेकोे भन्दै नवगठित संघले अग्रज व्यवसायीहरूको अनुभव र नयाँ पुस्ताको नवप्रवर्तनलाई संयोजन गर्दै नीतिगत संवादमा युवाको सशक्त सहभागिता सुनिश्चित गरिने बताएको छ ।

‘युवाको नेतृत्वमा पारदर्शी, प्रतिस्पर्धी र प्रविधिमैत्री वैदेशिक रोजगार व्यवसाय’ भन्ने उद्देश्य  लिइएको भन्दै संघले युवालाई संगठित, सक्षम र जिम्मेवार उद्यमीका रूपमा विकास गर्दै नेपाललाई विश्वसनीय श्रमिक आपूर्तिकर्ता राष्ट्रको रूपमा सुदृढ बनाउने लक्ष्य राखिएको बताएको छ । युवाको सोच, अग्रजको अनुभव र सबै व्यवसायीको एकताबाट मात्र विश्वसनीय र परिणाममुखी वैदेशिक रोजगार क्षेत्र सम्भव रहेको संघको भनाइ छ ।

सम्बन्धित खबर