चितवन : नारायणी डेभलपमेन्ट बैंकको केन्द्रीय कार्यालय नयाँ स्थान र नयाँ भवनबाट सञ्चालनमा आएको छ । बैंकले हालसम्म चितवन रत्ननगरको बकुलहर, टाँडीको केन्द्रीय कार्यालयबाट सेवा दिँदै आएकोमा आइतबारबाट भरतपुरको बाइपासरोड स्थित जिल्ला सहकारी संघको आधुनिक भवनमा सरी सेवाको सुरुवात गरेको हो ।
आइतबार नै बैंकले हाकिमचोक स्थित नयाँ शाखा कार्यालयबाट समेत सेवाको सुरुवात गरेको जनाएको छ । बैंकको २२औँ साधारणसभाले केन्द्रीय कार्यालय स्थानान्तरण गर्ने निर्णय गरे बमोजिम स्थानान्तरण भएको हो ।
बैंकले चितवनको टाँडी, यज्ञपुरी, भरतपुर, नारायणगढ र पर्सा शाखा कार्यालयहरूमार्फत् बैंकिङ कारोबार गर्दै आएको छ । व्यापारिक केन्द्रको रूपमा विकास हुँदै गरेको भरतपुरमा केन्द्रीय कार्यालय स्थानान्तरण भएसँगै सेवाग्राहीलाई थप सेवा प्रदान गर्न सहज हुने बैंकले जनाएको छ ।