ललितपुर : गजलकार जुमन किरणको गजलकृति ‘मौन आवाज’माथि परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । महालक्ष्मी साहित्य समाज ललितपुरले सोलमारी रेस्टुरेन्ट एन्ड मिटिङ इमाडोलमा उक्त परिचर्चा कार्यक्रम आयोजना गरेको हो ।
वरिष्ठ गजलकार ज्ञानुवाकर पौडेलको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो । प्रमुख अतिथि पौडेलले हुने विरुवाको चिल्लोपात भनेझैं जुमनमा गजल सिर्जनाको सम्भावना सुन्दर देखिएको उल्लेख गर्दै गजलले विविधतालाई स्वीकार गरेको बताए ।
कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य त्रैलोक्यमान बनेपालीले जुमनका गजल मूलतः सामयिक दृष्टिभाव र चेतनायुक्त रहेको बताउँदै ‘मौन आवाज’मा अनेकौं भावहरू रहेको बताए । यसैगरी प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभासदस्यद्वय चेतनाथ धमला र पञ्चकुमारी परियार, वरिष्ठ कथाकार धुव्र मधुकर्मी र सुसेली साहित्य प्रतिष्ठानका उपाध्यक्ष रजनी खत्री लगायतले शुभकामना मनतव्य राखे ।
यसैगरी मौन आवाज गजलकृतिको समीक्षा गर्दै समालोचक डा.नारायण गैरेले ‘काफियाहरू पुनरावृत्ति भएका छैनन्, विषयगत विविधताका सन्दर्भहरू जोडिएर गजल आएका देखिन्छन् । जुन भोगाइ, अनुभव र अनभूतिहरू गजलमा प्रशस्त आएको बताए । यसैगरी समालोचक प्रभातीकिरणले गजलकार जुमनमा शब्दभण्डार बलियो रहेको चर्चा गर्दै कतिपय गजल लयबद्ध रहेको उल्लेख गर्न भ्याए ।
कार्यक्रममा जुमन किरणकृत गजलसंग्रह ‘मौन आवाज’बाट शेखर आचार्य, सुशान्त केसी ‘अभिशान्त’ र रुबिना रानाले एक–एक वटा गजल वाचन गरे । महालक्ष्मी साहित्य समाजका अध्यक्ष श्रीराम पौडेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा समाजका कोषाध्यक्ष तथा गजलकार जुमन किरणले धन्यवाद ज्ञापनसहित आफ्नो मनतव्य राखिन् ।
समाजका अर्का सदस्य विनोद खत्री आकाशले स्वागत मन्तव्य राखे । कार्यक्रमको सञ्चालन समाजका सदस्य पुरुषोत्तम बस्नेतले गरेका थिए ।