काठमाडौं : ४ देशीय अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले मंगलबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिएको छ ।
एन्फाको आयोजनामा ५ फागुनदेखि दशरथ रंगशालामा हुने प्रतियोगितामा नेपालसहित म्यानमार, लेबनान र कीर्गिस्तान खेल्ने छ । नेपालमा पहिलोपटक चारदेशीय महिला फुटबल प्रतियोगिता हुन लागेको हो ।
प्रतियोगितामा सहभागी हुन कीर्गिस्तानको टिम १ फागुनमा र बाँकी २ टोली २ फागुनमा नेपाल आइपुग्ने छन् । टोलीहरूलाई एन्फा कम्प्लेक्स र नेपाली सेनाको भद्रकालीस्थित खेल मैदानमा प्रशिक्षणको व्यवस्था गरिएको छ ।
प्रतियोगिताको लागि ब्रोडकास्टिङ तथा टिकेटिङ र डिजिटल अधिकार ब्रान्ड लजिकलाई प्रदान गरिएको छ ।
साधारणतर्फ १० हजार ५ सय टिकट मात्र बिक्री गरिने र ७ सय ५० वटा भीआईपी टिकट बिक्री गरिने एन्फाले जनाएको छ । टिकट मूल्य साधारणतर्फ ५ सय तथा भीआईपीतर्फ १ हजार रुपैयाँ तोकिएको छ ।
यसपटक मैदानको व्यवस्थापन उत्कृष्ट तरिकाले गरिने ब्रान्ड लजिकका सीईओ रोशन निरौलाले जनाए । मैदानको वरपर सबै एलईडी लाइटको पेरिमिटर बनाइनेछ भने मैदानबाटै प्रि–म्याच र पोस्ट–म्याच एनालाइसिस सहित अन्तर्राष्ट्रियस्तरको लाइभ ब्रोडकास्टिङ देखिने उनले जनाए ।