२०८३ असोज ३ गते शनिवार / Sep 19 , 2026 , Saturday
२०८३ असोज ३ गते शनिवार

‘संघको भवन खरिद हजार व्यवसायीको साझा उपलब्धि’

Nada
२०८१ फागुन २ गते ०६:१५
Shares
‘संघको भवन खरिद हजार व्यवसायीको साझा उपलब्धि’

काठमाडौं : नेपाल वैदेशिक रोजगार व्यवसायी संघको वर्तमान कार्यसमितिले भवन खरिद गरेपछि वैदेशिक रोजगार क्षेत्रमा उत्साह र खुसियाली देखिएको छ । संघलाई आफ्नै स्वामित्वको भवन बनाउन करिब ३२ वर्ष लाग्यो ।

ncell

करिब डेढ दशक अगाडि संघका पूर्वअध्यक्ष दानबहादुर तामाङको कार्यकालमा राजधानीको सिनामंगलमा संघको भवन बनाउन करिब साढे ७ आना जग्गा खरिद गरेर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका तत्कालीन सचिव लक्ष्मणप्रसाद मैनालीबाट शिलान्यास गराउँदासमेत संघको भवन निर्माणको कामले गति लिन सकेन ।

वैदेशिक रोजगार व्यवसायीले नै साउदी र कतार पठाएका कामदारले महेन्द्र राजमार्ग आसपासमा २–३ वटा घर बनाउँदा करिब १ हजारको हाराहारीमा रहेका वैदेशिक रोजगार व्यवसायीले संघका लागि भवन खरिद गर्न आर्थिक दृष्टिकोणले नसक्ने विषय थिएन । तर, परस्परको अविश्वास र किचलोले संघको भवन बन्न सकेको थिएन ।

यस पटक पनि भवन खरिदका विषयमा असहमति व्यक्त नभएका होइनन्, तर संघको वर्तमान कार्यसमितिले ती असन्तुष्टिका आवाजहरूलाई व्यवस्थापन गरेर राजधानीको सिफलमा ६ आना १ पैसा जग्गामा बनेको साढे ३ तले भवन ४ करोड ५३ लाख १४ हजार रुपैयाँमा खरिद गरेर नेतृत्व क्षमता प्रदर्शन गरेको धेरैले टिप्पणी गरेका छन् ।

यस्तो टिप्पणी गर्नेमध्येका एक बरिष्ठ व्यवसायी हुन्– प्याराडाइज इन्टरनेसनल प्रा. लि.का संचालक, संघका पूर्वसल्लाहकार तथा ललितपुर वैदेशिक रोजगार व्यवसायी समाजका अध्यक्ष  नवराज के. सी. । व्यवसायी के. सी.ले हाल संघको भवन खरिदका लागि संघका अध्यक्ष राजेन्द्र भण्डारी र कार्यसमिति, सल्लाहकार रघुनाथ पुरीसहित पूर्वअध्यक्षहरू दानबहादुर तामाङ, निर्मल गुरुङ एल. पी. साँवा लिम्बू, तिलकबहादुर रानाभाट, बलबहादुर तामाङ, हंशराज वाग्ले, दिलप्रसाद पोखरेल, प्रेमबहादुर कटुवाल, विमलप्रसाद ढकाल, रोहन गुरुङ, बरिष्ठ व्यवसायी हेम गुरुङलगायत सबैलाई धन्यवाद दिए ।

यसरी नै महिला व्यवसायी सीतादेवी देवकोटा, नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसन, प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल, वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्च, एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठन, तराई वैदेशिक रोजगार व्यवसायी समाज, वैदेशिक रोजगार व्यवसायी तमुधि समाज, नेपाल वैदेशिक रोजगार व्यवसायी सामाखुसी एकता समाज, किरात राई वैदेशिक रोजगार व्यवसायी समाजसहित व्यवसायीका जातीय, भेगीय सबै संघसंस्था, आफूसहित ललितपुर वैदेशिक रोजगार व्यवसायी समाजलगायत सबैले उल्लेख्य सहयोग र योगदान गरेकाले सबै धन्यवादका पात्र रहेको टिप्पणी गरे ।

संघले भवन खरिद गरेपछि संघका स्वर्गीय पूर्वअध्यक्ष सोमलाल बाटाजु, विष्णु गैरेले देखेको सपना पनि पूरा भएको भन्दै व्यवसायी के. सी.ले भवन खरिदमा प्राप्त सफलता सम्पूर्ण व्यवसायीको साझा उपलब्धि रहेको बताए ।

उनले त्यसलाई साझा प्रयत्नको परिणामका रूपमा लिनुपर्ने र थप उपलब्धिका लागि एकताबद्ध भएर अघि बढ्नुपर्ने सन्देश रहेको टिप्पणी गरे ।

संघको नाममा भवन रहेको लालपुर्जा प्राप्त भएपछि संघका प्रथम उपाध्यक्ष डिकबहादुर खत्रीले संघको भवन खरिदका लागि हालसम्म ४ करोड १० लाख संकलन भए पनि भवन राजीनामा पास गरी लिन ४ करोड ५३ लाख १४ हजार खर्च हुँदा ४३ लाख १४ हजार रुपैयाँ सापटी लिएको बताएका छन् । 

उक्त भवनका लागि मध्यान्ह राष्ट्रिय दैनिकले पनि १ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेको थियो । खत्रीले भवन खरिदका लागि सबै व्यवसायीको उल्लेख्य योगदान रहेको भन्दै व्यवसायीको सम्मानका लागि नाम सार्वजनिक गर्ने बताएका छन् ।

संघको नाममा जग्गाको लालपुर्जा प्राप्त भएपछि वैदेशिक रोजगार व्यवसायीले सामाजिक संजालमार्फत खुसी र बधाई साटासाट गरिरहेका छन् ।

ताजा खबर

सम्बन्धित खबर