२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

जसको जीवन बित्यो ज्ञान बाँड्दै

ADV
२०८१ असार १५ गते ०६:४०
जसको जीवन बित्यो ज्ञान बाँड्दै

–मोहम्मद जाकिर हुसैन

जसको जीवन बित्यो बाँड्दै ज्ञान रहेनन् उनी
कति सादा थियो त्यो लोकमै छैनन् अरू कोही

तिमीले छरेका शैक्षिक सद्बीउ सबै उम्रिओस्
दुआ गर्दछन् जगत् नै तिम्रो परलोक सप्रियोस्

यस लोकमा लिएनौ क्यै बरु दियौ मात्र थरिथरि
अलबिदा छ अल्लामा अब्दुल अजीज सिद्दिकी

हजरत मौलाना अब्दुल अजीज सिद्दिकी नेपालका ठूला ओलमा (इस्लामका ज्ञाता, विज्ञ)हरूमध्ये पर्दछन् । विश्वका धेरै देशमा सञ्जाल बिस्तार गर्न सफल जमिअत ओलमाको नेपाल च्याप्टरका संस्थापक अध्यक्षको जिम्मेवारीमा समेत थिए । 

सिद्दिकी केही वर्षयतादेखि अस्वस्थ थिए । ९७ वर्षको उमेरमा बुधबार साँझ उनको देहावसान भएको छ । उनको निधनले राजपुर शोकमग्न छ । रौतहटका मुस्लिम र उनलाई चिन्ने देश–विदेशका लाखौँ मुसलमान शोकमग्न छन् ।

को हुन् मौलाना अब्दुल अजीज ?

रौतहट सदरमुकाम गौरदेखि पश्चिम दिशामा रहेको घना मुस्लिम आवादी राजपुर फरहदवामा मौलाना अब्दुल अजीज सिद्दिकीको जन्म एउटा जमिन्दार परिवारमा भएको थियो । उनका बाजे शेख फोदार मियाँको छोरा शेख गुल्जार मियाँ समाजमा सम्मानित  बुजुर्ग थिए । शेख गुल्जार मियाँक तीन छोरा र दुई छोरीमध्ये जेठा थिए अब्दुल अजीज सिद्दिकी थिए । 

अब्दुल अजीजले आफ्नै गाउँको मदरसा महमुदियाबाट प्रारम्भिक शिक्षा हासिल गरे । यसपछि फौकानिया र ओस्तानिया (माध्यमिक तह) को शिक्षा हासिल गर्न उनी बिहार राज्यको मोतिहारीमा जामिया इस्लामिया पुगे । त्यसपछि उनी दरभंगाको मदरसा इम्दादियामा आलिम तथा फाजिल (स्नातक) पूरा गरे । दरभंगामा फजिलत गरेपछि उनी आफ्नै गाउँ राजपुर फरहदवा फर्के । त्यतिबेला उनी ३० वर्षका थिए । उनले पढाइ सम्पन्न गरी फर्कँदा फरहदवामा अरू कसैले इस्लामी शिक्षा हासिल गरेका थिएनन् ।

पढाइ सकेर फर्केपछि उनले राजपुर फरहदवाको मद्रसा महमुदियामा शिक्षक भई सेवा शुरु गरे । उनले मदरसामा सेवा दिन शुरु गर्दा त्यहाँ व्यवस्थापन समितिको अध्यक्ष हाफिज शेख अब्दुल गफुर गनी थिए । मदरसा महमुदियामा उनले सन् १९६२  तिर नियुक्ति पाएका थिए ।

अब्दुल अजीजको रौतहट र देशभर नै प्रसिद्धि थियो । खासगरी जमिअत ओलमा हिन्दका ठूला ठूला ओलमासँग उनको सम्बन्ध कायम थियो । 

रौतहटमा राजपुर फरहदवा त्यो बस्ती हो जहाँ वि.सं. २००९ मा राजा त्रिभुवनको सल्लाहकार सभा (संसद)का सदस्य लियाकत अली, २०१५ मा प्रतिनिधि सभा सदस्य जितेका प्रजापरिषद्को नेता शेख इद्रीस जन्मेका थिए । शेख इद्रीसपछि नेपाली कांग्रेसका वरिष्ठतम् नेता थिए । उनी २०४८ मा पनि प्रतिनिधि सभा सदस्यमा जितेर दुई पटक मन्त्री भएका थिए । नेपाली कांग्रेसका नेता तथा पटक–पटक मन्त्री भएका अर्का ठूला व्यक्तित्व मोहम्मद अफताब आलम पनि राजपुर फरहदवाका हुन् । यसपछि यहीँका मुस्ताक आलम पनि केन्द्रिय मन्त्री भए । 

मुस्लिम समाजका स्थापित राजनीतिकर्मीहरूको विचरण स्थलमा अब्दुल अजीजको जनतामा प्रभाव देखेर उनलाई पनि सांसद बन्ने प्रस्तावहरू आए । तर, उनले शिक्षा र सामाजसेवाको क्षेत्रलाई नै रोजे । उनले मदरसा महमुदियाको भौतिक पूर्वाधार विकासदेखि शैक्षिक विकासमा आफूलाई केन्द्रीत गरे । मदरसाका सम्पूर्ण बागडोर उनको हातमा आयो । उनको शैक्षिक योगदानले त्यस भेगमा सयौँको संख्यामा मोलवी उत्पादन भयो, जो त्यहाँ र वरपरका बस्ती तथा जिल्लाहरूमा शैक्षिक, सामाजिक तथा धार्मिक कार्यहरूमा खपत भएका छन् । 

मौलाना अब्दुल अजीज सिद्दिकीकै नेतृत्वमा जमिअत ओलमा नेपालको स्थापना भयो । उनी यसको संस्थापक अध्यक्ष भएपछि १२ वर्षसम्म अध्यक्षकै हैसियतमा सक्रिय रहे । यसको केन्द्रीय कार्यालय काठमाडौंमा रहेको छ भने देशका विभिन्न जिल्लाहरूमा यसका शाखाहरू बिस्तार भएका छन् । यो संस्था मुस्लिम समुदायका ठूला केही मात्र संस्थाहरूमध्ये एक हो । अब्दुल अजीज अस्वस्थ रहन थालेपछि यसको अध्यक्षको जिम्मेवारी मौलाना खालिद सिद्दिकीको काँधमा पुगेको थियो ।

मौलाना अब्दुल अजीज इस्लामी शिक्षाप्रति समर्पित व्यक्तित्व हुन् । उनलाई बुद्धिजीवीहरूले नेपालमा उच्च कोटिको ओलमा र सुफीको रूपमा समेत बुझ्दछन् । अब्दुल अजीजले आफ्ना सम्पत्तिहरूसमेत बेचेर मद्रसा महमुदियाको विकासमा लगाए । उनले सधैँ इस्लामी शिक्षाले असल समाजको निर्माण हुन्छ भन्ने बुझे र त्यहीअनुसार काम गरे । टोल टोलमा पुगेर कृषकहरूसँग चन्दा, जकात, उसरा संकलन गरे । त्यसबाट मदरसा चलाए । 

मदरसामा हजारौँ विद्यार्थीलाई आवासीय र भोजनसमेतको छात्रवृत्ति प्रदान गरेर जीवनभर शिक्षा दिइरहे । उनका कार्यहरूको लामो समीक्षा हुँदै जानेछ । उनले खासगरी मुस्लिम समाजलाई चाहिने जनशक्ति निर्माण गरे । इस्लामी ज्ञानको केन्द्र मदरसा शिक्षालाई एउटा उचाइमा पुर्‍याउन खोजे । सामाजिक विकृतिहरू निर्मूल पार्न खुट्टिए । असहाय, गरीब, पीडितहरूको राहत केन्द्र पनि बने । ज्ञान बाँड्नु उनको जीवनको आदर्श थियो । उनी वास्तवमा त्यस समाजमा एउटा रिफर्मर थिए । पछिल्लो समय उनले आफ्नो मदरसालाई आधुनिकीकरणमा ढाल्दै लगेका थिए । मदरसाको आफ्नो सनाखत कायम राख्दै आधुनिक पाठ्यक्रमको पक्षमा उभिएका थिए उनी ।

प्रायः सेतो कुर्था पाजामा र मदरसामा हुँदा लुङ्गी कुर्था लगाउने मौलाना अब्दुल अजीजको जीवनशैली अति सरल थियो । उनमा तडकभडक र सम्पत्ति आर्जन गर्ने शोक कहिल्यै भएन । उनको खानपिन, लवाइखवाइ, रहनसहन सबै निकै पारदर्शी र सरल रह्यो । प्रायः निजी भौतिक सम्पत्ति बेच्दै मदरसाको विकास र उन्नतिमा लगाए । कुनै सांसारिक लालसाबाट अभिप्रेरित थिएनन् उनी । न उनले आफ्नो प्रचारबाजी नै चाहे । 

मौलाना नेपालमा मुस्लिम समुदायको सामुदायिक एकताको पक्षधर थिए । २०६९ सालमा देशभरका सर्वपक्षीय मुस्लिम समुदायको साझा प्लेटफर्म राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनको स्थापनाको राष्ट्रिय भेलाको अध्यक्षता गर्ने सौभाग्य उनैले पाएका थिए । किनकी उनी निर्विवादित र सर्वमान्य व्यक्तित्व थिए । उनको यो पहिचान जीवनभर कायम रह्यो । रौतहटमा उनलाई आफ्नो समुदायमा बच्चा बच्चाले चिन्छन् र सम्मान प्रकट गर्छन् । उनको पुकारमा पुरै रौतहट झुम्मिएको हेर्न सकिन्छ । झण्डै एक शताब्दी संसार देखेका मौलाना अब्दुल अजीज सिद्दिकीको देहावसानले कौमलाई सर्वत्र स्तब्ध बनाएको छ । एउटा युगपुरुषको अवसान भएको छ । अपुरणीय सामुदायिक क्षति भएको छ ।

(लेखक हुसैन, मुस्लिम धर्मसम्बन्धी अध्ययन अनुसन्धानमा सक्रिय तथा पूर्वमन्त्री हुन् ।)

ADVADV

सम्बन्धित खबर

Advertise